झुटो विवरण राखी एमआरपी बनाउने अभियुक्त पक्राउ
काठमाडौँ, ७ पुस । केन्द्रीय अनुसन्धान ब्युरोले झुटो विवरण राखी मेसिन रिडियवल पासपोर्ट (एमआरपी) बनाउने मुख्य अभियुक्तलाई आज पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले अनुुसन्धानका क्रममा झुटो विवरण राखी एमआरपी बनाई मोटो रकम लिने गरेको भन्दै काभ्रे घर भई हाल सिनामङ्गल बस्ने ३९ वर्षीय रमेश भनिने रत्नप्रसाद पराजुलीलाई पक्राउ गरेको हो ।
यसअघि काल्छाङ छिरिङको ०८७५६९०४ नंको राहदानी बनाएको भन्दै मुस्ताङ घर भई हाल नागार्जुन नगरपालिका बस्दै आएका ४९ वर्षीय उत्तम गुरुङलाई पक्राउ गरिएको थियो । गुरुङले दिएको विवरणका आधारमा प्रहरीले खोजी गर्दा यही पुस १ गते काठमाडौँको सिनामङ्गलबाट मुख्य अभियुक्त पराजुलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । रासस