जनकपुर घटना छानबिन समितिले आजैदेखि काम शुरु गर्ने
काठमाडौं, ७ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही दिन अघि धनुषाको जनकपुरमा भएको दुव्र्यवहारको घटनाको बारेमा छानबिन गर्न गठित छानबिन समितिले आजैदेखि काम शुरु गर्ने भएको छ । समितिका सदस्यहरु आज जनकपुर पुगेर घटनामा संलग्न व्यक्ति तथा घटनासँग सम्बन्धित अन्य विषयहरुमा आजदेखि नै छानबिन अघि बढाउन लागेको हो । राष्ट्रपति भण्डारी केहीदिन अघि विवाह पञ्चमीको अवसर पारेर जनकपुर धाममा लागेको मेलामा सहभागी हुने क्रममा मधेशी मोर्चाका कार्यकर्ताले ढुंगामुढा र पेट्रोल बम प्रहार गरेका थिए ।
उनीहरुले हानेको गाडी राष्ट्रपतिको सुरक्षा रहेको कारगेट गाडीमा लागेको थियो । त्यसको भोलिपल्ट विधवा राष्ट्रपतिले मन्दिर टेकेको भन्दै मोर्चाका कार्यकर्ताले गंगाजल छर्केर मन्दिर सफा गरेको बताएक थिए । घटनाको विषयमा चौतर्फी विरोध भएपछि गृहमन्त्रलयले सो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्सीय समिति गठन गरेको थियो ।
समितिमा केसीका साथै प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्तबहादुर पाल र सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल रहेको टोली गठन गरिएको थियो । समितिले आज देखि काम शुरु गरेर बढीमा एक साताभित्र त्यसको प्रतिवेदन सरकारलाई बुझाउने म्याडेट पाएको छ ।