Live Streaming

​निकासका लागि काँग्रेसको प्रयास जारी

काठमाडौं, ७ पुस ।
मधेस आन्दोलनमा निकास खोज्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच कसरत जारी छ । कांग्रेस सभापति सुशील कोइरालाको महाराजगंजस्थित निवासमा आज बसेको बैठकमा संविधान संसोधन विधेयक, मधेश आन्दोलन तथा सहमतिका बैकल्पिक उपायबारे गम्भिर छलफल भएको र भोलीसम्म एउटा निष्कर्षमा पुगिने नेताहरुले बताएका छन । सरकारसँगको औपचारिक वार्ता रोकिएको बेला प्रतिपक्षी दल कांग्रेससँग भने मोर्चाले पछिल्लो समय छलफल गरिरहेको छ ।

सरकारसँग वार्ताको औचित्य नभएको निष्कर्ष निकालेको मोर्चाले कांग्रेसलाई मनाएर सहमतिका साथ अघि बढ्ने प्रयासमा गरेको बताइएको छ । हिजो सरकारी वार्ता टोलीसँगको छलफलमा मन्त्री परिषद्ले गरेको पछिल्लो निर्णय मन्त्री कमल थापाले जानकारी गराउनुभएको थियो । संविधानको समेत स्वागत गर्न नसकेको भारतले हिजो सरकारको पछिल्लो निर्णयको स्वागत गर्दै सिमा नाका खोल्ने संकेत गरेको थियो ।

तर सदभावना पार्टीका महासचिव मनिस सुमनले भने भारतलाई चित्त बुझे पनि सरकारी प्रस्तावले आफूहरुको माग सम्बोधन गर्न नसक्ने बताउनुभयो । यसैबीच मोर्चाले आज तराईका सबै गाविसमा संविधान संसोधन विधेयक जलाउने बताएको छ । तर भारतले भने निर्णयको स्वागत गरिसकेको छ ।