वीरगन्ज र गौर बिहानैदेखि तनावग्रस्त
वीरगन्ज,५ पौष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपका कारण हिजो दिनभर तनावग्रस्त बनेका बीरगञ्ज र गौरमा आज पनि बिहानैदेखि प्रर्दशन सुरु भएको छ । मोर्चाका कार्यकर्ताले बिहानैदेखि चोकचोकमा टायर बालेर प्रर्दशन गरिरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । उनीहरले सवारी साधनहरु चल्न दिएका छैनन् भने सर्बसाधारणलाई समेत प्रर्दशनमा आउन बाध्य बनाइरहेको बीरगञ्ज सहकर्मी क्रान्ती शाहले जनाएका छन् । बन्दका कारण बजार, पसल, चार पांग्रे सवारी साधन चल्न सकेका छैनन् ।
यसअघि हिजो वीरगञ्जको घण्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो भने गौरमा आन्दोलनकारीको प्रदर्शन उग्र बनेपछि प्रहरीसँग झडप भएको थियो । यसैबीच रौतहटको चन्द्रपुरमा आज बिहान एक यात्रुबाहक बसमा अज्ञात समुहले आगजनी गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर ८ मा काठमाडौंबाट झापा जाँदै गरेको मितेरी यातायातको ना ४ ख ५१० नम्बरको बसमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी मधेशी मोर्चाका कार्यकर्ताले गरेको भनिए पनि बस कर्मचारी र मालिक बीचको बीमा विवादका कारण आगजनी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।