Live Streaming

​ वन्तको निलम्बन रोकियो

काठमाडौं,३ पौष । अख्तियारले निलम्बनको सिफारिस गरेपनि शसस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तको निलम्बन प्रकृया अन्यौलमा परेको छ । आज बिहान मन्त्रिपरिषदको बैठक बसेर वन्तको निलम्बनका विषयमा निर्णय लिने तयारी भएपनि कार्यवाहक महानिरिक्षकको विषय नटुंगिएकाले बैठक अन्तिम समयमा आएर स्थगित भएको श्रोतले जनाएको छ । सरकारको नेतृत्वकर्ता दल एमाले र सत्तासाझेदार एकीकृत माओवादीबीच कार्यवाहकका विषयमा कुरा नमिलेपछि वन्तको निलम्बनको निर्णय अन्यौलमा परेको हो । 

प्रधानमन्त्री केपी ओलीले वन्तपछिको मर्यादमा रहेका दुर्जकुमार राईलाई कार्यबाहक दिनुपर्ने अडान लिनुभएको छ भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तेस्रो मर्यादामा रहेका कृष्णकुमार तामाङलाई जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्छ । राईपछि रहेका जीवन थापाका विषयमा पनि प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको छ । त्यही विषयमा कुरा नमिलेपछि वन्तको निलम्बन रोकिएको उच्च स्रोतले बताएको छ । 

भ्रष्टाचार गरेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्त सहित सशस्त्रकै प्रहरी नायब उपरीक्षकद्वय सुमनजङ्ग थापा र रामकृष्ण महर्जन तथा प्रहरी निरीक्षक बिनबहादुर थापालाई पनि तत्काल निलम्बन गर्न सिफारिस गरेको हो । अख्तियार उच्च स्रोतका अनुसार उनीहरूविरुद्ध अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ । छानबिनका क्रममा अस्तित्वमै नभएको झोले कम्पनीलाई विभिन्न सामान खरिदको जिम्मा दिइएको तथा सम्बन्धित युनिटसम्म त्यस्ता सामग्री नपुगेका कारण करिब ६ करोड हानिनोक्सानी भएको तथ्य फेलापरेपछि उनीहरूलाई निलम्बन गर्न सरकारलाई पत्र पठाएको हो ।