मोर्चाले आजबाट आन्दोलन थप शसक्त बनाउने
काठमाडौं,३ पौष । सरकारलाई अन्तिम धक्का दिने भन्दै आन्दोलनरत मधेसी मोर्चाले आजबाट आन्दोलन थप शसक्त बनाउने भएको छ । आफ्ना माग र जारी वार्ताप्रति सरकार गम्भीर नभएको भन्दै मोर्चाले संविधान जारी भएको तीन महिना पारी आन्दोलन थप चर्काउने निर्णय गरेको हो । मार्चाले जारी नाकाबन्दीलाई थप सशक्त बनाउनका लागि नाकास्थलमा आमजनताको सहभागिता बढाउन र ग्रामिण नाकाहरुबाट भइरहेको तेल तस्करी नियन्त्रण गर्न कडाईका साथ पहल गर्ने निर्णय गरेको हो ।
चार महिनादेखि आनदोलन जारी रहेपनि सरकारले समस्या समाधान प्रति चासो नदेखाएको भन्दै मोर्चाले आजदेखि अन्तिम चरणको आन्दोलन चर्काउने सदभावना पार्टीका राष्टिय अध्यक्ष राजेन्द्र महत्तोले बताउनुभयो । मधेस आन्दोलनलाई तुहाउन सरकार र प्रमुख दलहरुले चलखेल गरिरहेको भन्दै महतोले यथास्थितिमा वार्ताको औचित्य समाप्त भइसकेको दावी पनि गर्नुभयो । मोर्चाले गएराती बिरगञ्ज लगायतका स्थानमा मशाल जुलुश प्रर्दशन समेत गरेको थियो ।