विश्व आप्रवासी दिवश आज
काठमाडौं,३ पौष । विश्व आप्रवासी दिवश आज, नेपाललगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई विश्व आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा सन् २००० देखि डिसेम्बर १८ मा यो दिवस मनाइँंदै आएको छ ।
दिवसका अवसरमा आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गरेका छन् । आजका दिन कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा बिदा गर्ने समेत गरिन्छ । प्रत्येक दिन करीब १७ सय नेपालीहरु कामका लागि विदेशिने गरेका सरकारी तथ्याङ्क छ । जस अनुसार ३० लाख भन्दा बढी नेपाली अहिले रोजगारीका शिलसिलामा विदेशिएका छन् । विशेषगरी खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका र दक्षिणी छिमेकी राष्ट्र भारतलगायत विश्वका झण्डै २ सय वटा देशहरुमा नेपालीहरु कामका लागि जाने गरेका छन् ।