नियम उल्लङ्घन गर्ने १३० चालक कारबाहीमा, मापसे गर्ने ३७ पक्राउ
रत्ननगर (चितवन), २ पुस । सवारी नियम उल्लङ्घन गर्ने र मापसे गर्ने चालकविरुद्ध क्रियाशील रहेको जिप्रका र ट्राफिक प्रहरी कार्यालय चितवनले आज १६७ जना चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म २४ घन्टामा गरिएको जाँचका क्रममा सवारी नियम उल्लङ्घन गर्ने १३० र मापसे गरी सवारी चलाउने ३७ गरी १६७ जनालाई कारबाही गरिएको हो ।
जसमा १४२ जनालाई टा«फिक प्रहरीले र २५ जनालाई जिप्रकाबाट खटिएका प्रहरी टोलीले कारबाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले १३० जना नियम उल्लङ्घन गर्नेबाट रु ६९ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । यस्तै १२ जना मापसे गर्ने चालकलाई समेत कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । यसैबीच जिप्रका चितवनले गएराति गरेको जाँचका क्रममा मापसे गरेर सवारी चलाउने २५ जना चालक पक्राउ गरेको छ । उनीहरुबाट आज तोकिएको जरिवाना तिराउने प्रहरीले जानकारी दिएको छ । रासस