मूल्यवृद्धि दुई वर्षयताकै उच्च बिन्दुमा
काठमाडौं,२ पौष । लामो समयदेखि भारतले लगाएको नाकाबन्दीका कारण नेपाली बजारमा मूल्यवृृद्धि दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिले मूल्यवृद्धि दोहोरो अंकमा पुगेको देखिएको हो । मूल्यवृद्धिको सबैभन्दा बढी चाप काठमाडौं उपत्यकामा परेको छ । काठमाडौमा मूल्यवृद्धि ११ दशमलव ८ प्रतिशत पुगेको छ भने पहाडी क्षेत्रमा ११ दशमलव ४ प्रतिशत, हिमालमा ९ दशमलव ६ प्रतिशत र तराईमा ९ दशमलव १ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
यसअघि २०७० सालको कात्तिक मूल्यवृद्धि १० प्रतिशत पुगेको थियो । गेडागुडी, घ्यू, तेल र लत्ताकपडा तथा जुत्ता उपसमूहको मूल्यमा उच्च अंकले मूल्यवृद्धि भएको राष्ट्रबैंकको तथ्यांकले जनाएको छ । तराईमा जारी लामो बन्द, हडताल, व्यापारिक नाकाहरुमा नाकाबन्दी र अत्यावश्यक वस्तुहरु संचय गर्ने बढ्दो प्रवृत्ति मूल्यबृद्धिको प्रमुख कारण रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्ष २०७२÷०७३ को कात्तिक महिनामा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति १० दशमलव ४ प्रतिशत रहेको छ । गत आर्थिक वर्र्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलव २ प्रतिशत थियो । राष्ट्र बैंकले आपूर्ति अवस्था सहज नहुँदासम्म मौद्रिक व्यवस्थापनबाट मात्र मुद्रास्फीति नियन्त्रण गर्न कठीन देखिएको जनाएको छ ।