मोर्चाका नेताहरुद्वारा पत्रिकाहरु कब्जा
राजविराज, १ पुस । मधेशी मोर्चा सप्तरीका नेताहरुले बुधबार राजविराजबाट अन्नपुर्ण पोष्ट, नागरिक, कान्तिपुर र काठमाडौं पोष्ट पत्रिका कब्जामा लिएका छन् । पसलमा बिक्री भइरहेको पत्रिकाहरु मोर्चाका स्थानीय नेता–कार्यकर्ताहरुले नियन्त्रणमा लिई लगेका हुन् । बिक्री भइरहेको अवस्थामा आएका मोर्चाका नेताहरुको समूहले बाँकी रहेको दुई सय ५० प्रति कान्तिपुर, ४० प्रति नागरिक, नौ प्रति काठमाडौं पोष्ट र छ प्रति अन्नपूर्ण पोष्ट दैनिक पत्रिका नियन्त्रणमा लिएर लगेको उपयोगी पुस्तक पसलका सञ्चालक उत्तम भुजेलले जानकारी दिए ।
मधेश आन्दोलनको समाचारलाई स्थान नदिएको आरोप लगाउँदै उनीहरुले पत्रिकाहरु नियन्त्रणमा लिएको बताए । आन्दोलनको समाचारलाई स्थान दिनुको साटो भ्रामक समाचार सम्प्रेषण गर्ने गरेकाले राष्ट्रिय पत्रिकाहरु नियन्त्रणमा लिएको बिद्यार्थी मञ्चका केन्द्रीय सदस्य किशोर कुमार यादवले बताए । राष्ट्रिय पत्रिकाहरु सप्तरी पठाए अबदेखि जलाइने मोर्चाले निर्णय गरेको उनले जनाए । सप्तरीमा आन्दोलन चर्किएपछि चार महिनायता बुधबार पहिलो पटक राष्ट्रिय दैनिक पत्रिकाहरु राजविराज आएको थियो ।