जनकपुरबाट राष्ट्रपति फर्केपछि बम प्रहार
जनपुर, १ पौष । राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर पुगेपछि मधेसी मोर्चाको विरोधका कारण त्यहाँको अवस्था तनावग्रस्त भएको छ । राष्ट्रपति भण्डारी जानकी मन्दिरमा दर्शन गरेर फर्केपछि मन्दिर परिसरमा पेट्रोल बम प्रहार भएको छ । सेनाको कडा सुरक्षाबीच मन्दिरमा दर्शन गरेर राष्ट्रपति भण्डारी फर्केलगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरुले मन्दिर परिसरमा ढुंगामुढा र पेट्रोल बम हानेका हुन् । मोर्चा कार्यकर्ताले मन्दिरको भित्रीभागमा पनि ढुंगामुढा गरेपछि त्यहाँ छिरेका दर्शनार्थी, सञ्चारकर्मी र पूजारीसमेत थुनिएका छन् । मोर्चा उग्र कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेपछि अवस्था झनै तनावग्रस्त भएको छ ।
राष्ट्रपति जनकपुर आगमनको विरोध गर्दै मधेसी मोर्चाले कालोझन्डा देखाएर प्रदर्शन गरिरहेका छन । राष्ट्रपति भण्डारी चढेको नेपाली सेनाको सुपरपुमा हेलिकोप्टर पौने १२ जनकपुर प्रहरी अञ्चल कार्यलयमा अवतरण गरेको थियो । त्यहाँबाट उहाँलाई नेपाली सेनाको विशेष स्कर्टिङसहित गाडीमा जानकी मन्दिर लगेपछि त्यहाँ भण्डारीले विशेष पूजा गर्नुभएको थियो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, प्रगतिशील मधेसी समाज, मधेस अधिकार संघर्ष समिति, संयुक्त युवा संघर्ष समिति, मधेस बुद्धिजिवी नागरिक संघर्ष समिति, मधेस क्रान्ति संघर्ष समितिका नेता कार्यकर्ता बिहानैदेखि जनकपुरको ठाउँ ठाउँमा टायरबालेर नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका हुन् । राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शन गर्न आउने भनेपछि हिजो नै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा संयुक्त समावेसी मधेसी गठबन्धनले त्यसको विरोध गर्ने बताएका थिए ।