आफै चढेको ट्याक्टरले कुल्चिएर मृत्यु
रेडियो अन्नपूर्ण नेपाल
राजविराज,१ पौष । सप्तरी जिल्लाको मलेकपुर ८ मुसहरनिया टोलमा मंगलबार ट्याक्टरले कुल्चिएर सोही ट्याक्टरमा सवार एक मजदुरको मृत्यु भएको छ । सदरमुकाम राजविराजबाट मलेकपुर ८ स्थित कट्टी गाउँंतर्फ जाँदै गरेको स.१त २८६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिंदा मलेकपुर ८ मुसहरनिया टोलका ३० वर्षीय बद्री सदाको घटनास्थलमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक जमुनी मधेपुरा छपकी टोलका २६ वर्षीय भोला राम गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले बताए ।