नेपाली किशोरले क्यानडामा जिते अवार्ड
काठमाडौ, २९ मङ्सिर ।क्यानाडाको क्यालगरी सहरमा आयोजित फिडब्याक फ्राइडे भोलम—२ नामको संगीत प्रतिस्पर्धामा नेपाली मूलका प्रतिस्पर्धी अभि बस्ताकोटी आफ्ना २२ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट दुईमा पर्न सफल भएका छन्।
सांगीतिक क्षेत्रमा लागेका स्थापित व्यक्तिहरूले भाग लिने उक्त प्रतिस्पर्धामा गोरखा, आँपपीपल स्थायी घर भई हाल क्यानाडाको क्यालगरी बसोबास गर्ने १६ वर्षीय किशोर अभिले आफ्नो संगीतको कला देखाई आयोजक तथा सहभागीहरूलाई चकित पारे। पहिलो चरणको प्रतिस्पर्धामा छनोटमा परेका २४ जनाबाट आठ जनामा पर्न सफल भए।
बिहीबार भएको अन्तिम छनोट प्रतिस्पर्धामा एल्बर्टाका स्थापित म्युजिक उत्पादकहरूलाई पछि पार्दै उत्कृष्ट २ मा पर्न सफल भएपछि उनले सांगीतिक क्षेत्रमा थप सीप आर्जनको लागि आयोजक संस्था बिट ड्रपबाट क्यानेडियन डलर दुई हजार चार सयको छात्रवृत्तिसमेत प्राप्त गरेका छन्।
संगीत क्षेत्रको कुनै औपचारिक तालिमबिनै सौखको रूपमा सिक्दै जाँदा करिब एक वर्षको प्रयासमा आफूले म्युजिक बिट उत्पादनमा केही जानेको तर यति छिट्टै धेरै वर्ष संगीत साधना भएका क्यानेडियन संगीतकर्मीसँग आफ्नो संगीत तुलनायोग्य होला भन्ने नसोचेको अभिले बताए।
पहिलो पटक प्रतिस्पर्धामा सहभागी भएको र आफू उत्कृष्ट दुईमै पर्छु भन्ने विश्वास नभएको तर आफ्नो काम निर्णायक र दर्शकले ज्यादै मन पराएकोले भविष्यमा संगीत क्षेत्रमै आफ्नो क्षमता विकास गरी योगदान गर्न सक्छु भन्ने लागेको उनी बताउँछन्।अभिका म्युजिक बिटमा क्यानेडियन र अमेरिकी गायकले गाउन थालेका छन् भने उनको सांगीतिक व्यवस्थापक हुन्।
केही स्थानीय व्यवस्थाकहरूले समेत चासो दिन थालेका छन्। सांगीतिक क्षेत्रमा उनी ट्रांक्स नामले चिनिन्छन्। क्यालगरीको सर विन्स्टन चर्चिल हाइस्कुलमा कक्षा ११ मा अध्ययनरत अभि बस्ताकोटी संगीतबाहेक ग्राफिक डिजाइन र सामाजिक सेवामा पनि उत्तिकै चासो राख्छन्। अन्नपूर्ण