बालविवाह रोक्न गाउँमा गस्ती
ललितबहादुर बुढा
सुर्खेत,२९ मंसिर । कक्षा ६ मा पढ्दापढ्दै उनले भागेर विवाह गरिन् । स्कुले उमेरमा नै बुहारी बनेपछि घरको कामले विद्यालय जान पाइनन् । उनको पढाइ बिचमै रोकियो । पढ्न छोडेर भागी विवाह गरेपछि उनलाई माइतीले वास्ता गर्न छोडिदिए । सानैमा विवाह गरेकै कारण सुर्खेत साटाखानीकी बिर्मा नेपालीको धेरै पढेर ठूलो मान्छे बन्ने सपना बिचमै तुहियो । हतारमा बिबाह गरेकै कारण आफ्नो सपना चकनाचुर भएपछि १८ वर्षीया बिर्मा अहिले गाउँमा अरुलाई बालविवाह गर्न नदिने अभियानमा जुटेकी छन् ।
उमेर नपुग्दै हतारमा विवाह गर्दा आफूले पढ्न नपाएको र गाउँका अन्य बालबालिकाले समेत यस्तै समस्या भोग्नु परेको भन्दै बिर्मा अहिले बालविवाहबिरुद्धको अभियानमा होमिएकी हुन् । उनको अभियानमा गाउँका अन्य किशोरीहरुले समेत साथ दिएका छन् । बालविवाह गरेर गाउँका धेरै जोडीले दुःख पाएको देखेपछि अहिले साटाखानीका बालबालिकाहरु संगठित रुपमा नै बालविवाहबिरुद्ध उत्रिएका छन् । आफ्नो गाउँलाई बालविवाहमुक्त बनाउने अठोटसहित उनीहरुले हिजोआज गाउँमा गस्ती नै गर्न थालेका छन् ।
गस्तीका क्रममा उनीहरुले बालविवाह गर्दा हुने बेफाईदाको बारेमा स्थानीय अभिभावक र बालबालिकालाई जानकारी मात्र दिदैनन्, गाउँमा कसैले बालविवाह गर्न लागेको जानकारी पाउने वित्तिकै त्यसलाई रोक्छन् । यदी कसैले विवाह रोक्न अटेर गरे उनीहरुले तत्काल स्थानीय प्रशासन र प्रहरीलाई खबर गरिदिन्छन् । बिर्मासँगैका साथीहरु जसले हतारमा विवाह गरेनन्, उनीहरु मध्ये अहिले कोही क्याम्पसमा पढ्दैछन् भने कोही एसएलसीको तयारीमा छन् । तर, बिर्मा भने घरको काम र पारिवारिक बन्धनमा फसेकी छन् । बिर्मा भन्छिन्,‘उत्तिबेला यस्तो कुरा थाहा भएन, आफैले हतारमा विवाह गरेँ । चाहेर पनि धेरै पढ्न पाइन, अहिले पछुतो मानेर के गर्नु ?’ विगतलाई सम्झेर समय खेर फाल्नुको कुनै अर्थ नभएको भन्दै उनले थपिन्,‘मैले हिजो गल्ती गरेर आज जुन पीडा भोग्दैछु, त्यो पीडा अब कसैले भोग्न नपरोस् ।
उमेर नपुग्दै विहे गर्दा भविश्य नै अन्धकार हुन्छ, त्यही भएर नै हामीले गाउँमा बालविवाह रोक्न अभियान चलाएका छौं ।’ गाउँमा कसैले पनि बालविवाह नगरोस् भनेर आफूहरुले हिजोआज गस्ती गर्न थालेको र खबरदारी गरेपछि सुधार आएको उनको भनाइ छ । स्थानीय किशोरी प्रमिला खाम्चाले आफूहरुले बालविवाह विरोधी अभियान सञ्चालन गरेपछि अभिभावकहरुले पनि साथ दिन थालेको बताईन । उनले भनिन्,‘हाम्रो अभियानलाई सबैभन्दा बढी उमेर नपुग्दै विवाह गरेर पछुताएका जोडीहरुले साथ दिएका छन्, उनीहरुले नै अरुलाई आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने सल्लाह दिन्छन् ।’
साटाखानीमा मात्र होइन, जिल्लाको ग्रामीण क्षेत्रका १३ देखि १९ वर्ष उमेरका बालबालिकाहरु अहिले बालविवाह रोक्नका लागि अग्रसर भएका छन् । पछिल्लो समय जिल्लामा बढ्दै गएको बालविवाह र जाँडरक्सीको उत्पादन नियन्त्रणका लागि भन्दै उनीहरुले गस्ती थालेका हुन् । समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले गाउँमा संवाद केन्द्रहरु स्थापना गरेर जीवन उपयोगी सीप र अधिकारको बारेमा जानकारी दिएपछि यहाँका किशोरकिशोरीहरु बालविवाह र सामाजिक कुसंस्कार तोड्न अग्रसर भएका हुन् । उनीहरुले जिल्लाका विभिन्न गाउँमा हुन लागेको बालविवाह रोक्ने, जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने र अन्य सामाजिक कार्यमा सहभागि हुने गरेका छन् ।
रामघाटमा समेत स्थानीय पाखापानी किशोरी संवाद केन्द्रका किशोरीहरु गाउँमा बालविवाहबिरुद्ध खबरदारी गर्ने गरेका छन् । स्थानीय किशोरी खिमा बुढाले भनिन्,‘गाउँका सबै किशोरीहरु मिलेर कसैलाई पनि उमेर नपुग्दै विवाह गर्न दिदैनौं, बालविवाह गर्नु हुँदैन भनेर सम्झाउने गरेका छौं । यदी लुकिछिपी हुन लागेको थाहा पाएपछि त्यसलाई रोक्ने गरेका छौं ।’ त्यहाँका किशोरहरुले समेत किशोरीहरुसँग समन्वय गरेर सामुहिक रुपमा गाउँमा गस्ती गर्दछन् । यस्तै जर्बुटाका किशोरकिशोरीहरुले सामाजिक बिकृतिविरुद्ध अप्रेसन नै सुरु गरेका छन् ।
स्थानीय फुलबारी किशोरी संवाद केन्द्रमा आवद्ध किशोरी अञ्जली नेपाली भन्छिन्,‘पहिले त गाउँमा उमेर नपुग्दै विवाह हुन्थ्यो, अहिले हामीले चेतनामुलक अभियान चलाएपछि केही कम भएको छ ।’ अर्की किशोरी सिर्जना विकले आफुहरुले अभियान चलाएपछि बालविवाह विरोधी धारणामा विकास भएको बताईन् । कुनैबेला खेलेर समय विताउने र पढाइमा समेत ध्यान नदिने छोराछोरीहरु हिजोआज गाउँमा कुरिती तोड्न सक्रिय भएपछि अभिभावकहरु पनि दंग परेका छन् । अभिभावक बालकुमारी विर्कटा भन्छिन्,‘उमेर नपुग्दै छोराछोरीको विहे गरिदिनु राम्रो रहेनछ, केटाकेटीहरुले गाउँमा गस्ती गरेर जानकारी दिएपछि मात्र हामीलाई थाहा भयो । अहिले त गाउँमा निकै सुधार भएको छ ।’ स्याक नेपालका चम्पा विक भन्छिन्,‘अहिले त कसैले बालविवाह गर्न लागेको जानकारी पाएलगत्तै किशोरकिशोरीहरुले रोकिदिन्छन्, गाउँमा हुने बालविवाहमा धेरै कमी आएको छ ।’