Live Streaming

गाउँलेले एक करोड दान गरे

रेडियो अन्नपूर्ण नेपाल
बुटवल,२८ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ र आसपासका बासिन्दाले नगर कार्यालय भवन निमाणार्थ रु.एक करोडभन्दा बढी नगद दान गरेका छन् । उक्त रकमले खरिद गरिएको दश कठ्ठा जग्गामा निर्माणाधिन दुईतले ३५ कोठे भवनको आइतबार बेलुका एक समारोहबीच अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री पौडेलले भारतको अघोषित नाकाबन्दीका कारण असहज भएको आपूर्ति व्यवस्था सहज बनाउन सरकारले ध्यान केन्द्रित गरेको बताए । सैनामैना पर्रोहा र दुधराक्ष गाविस मिलाएर नवगठित नगरपालिका हो ।

पर्रोहाले मुर्गियामा र दुधराक्षले कलौनीमा कार्यालय भवन बनाउने अडान लिएका थिए । त्यसक्रममा सबैलाई पायक पर्ने ठाउँ वडा नम्वर ७ का बासिन्दाले रकम संकलन गरी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । भवन निर्माणका लागी आवश्यक पर्ने ३ करोड ६९ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने अपेक्षा लिइएको जग्गा व्यवस्थापन समितिका संयोजक डिल्लीराज ज्ञवालीले बताए ।