Live Streaming

माग पुरा गर्न ढिलाइ गरे आन्दोलन हिंसात्मक हुन सक्छ : राजेन्द्र महत्तो

क्रान्ति शाह

वीरगन्ज ,२८ मंसिर । संयुक्त लोकतन्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले मधेसका माग सम्बोधन गर्न राज्यले ढिलाइ गरे जारी मधेस आन्दोलन हिंसात्मक हुने संकेत गरेका छन् । सोमबार वीरगन्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महत्तोले  शान्तिपूर्ण आन्दोलनको माग पुरा गर्न सरकार र तीन दलहरु तयार नभए मुलुक नै भयावह दुर्घटनामा पर्न सक्ने बताए ।  शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्ने हो भने आन्दोलन हाम्रो हातबाट फुत्किन्छ , उनले भने ,‘अहिले हामीले स्वायत्तता सहितको प्रदेशको माग गरिरहेका छौं तर यदि हाम्रो हातबाट यो आन्दोलन फुत्कियो भने आन्दोलन अलग देश माग्नेहरुको हातमा पुग्छ , आन्दोलन हिंसात्मक हुन सक्छ र मुलुकमा साम्प्रदायिक द्धन्द्ध पनि शुरु हुने खतरा रहन्छ, यदि त्यस्तो भयो भने यसको सबै दोष सरकार र तीन दलले नै लिनुपर्छ  ।

 मधेसलाइ नेपालबाट अलग बनाउन चाहने शक्तिहरु अहिले देखि नै मौका कुरेर बसिरहेको भन्दै अध्यक्ष महत्तोले भने ,‘त्यो मौका दिने पक्षमा हामी छैनौ ,यस तर्फ सरकार र ठूला तीन दल बेलैमा सचेत हुन जरुरी छ । मधेसी मोर्चाले कुनै नयाँ माग नराखेको भन्दै उनले मधेसका सबै माग पुरा भएपछि मात्रै जारी  आन्दोलन रोकिने बताए । मुलुकमा अहिले सम्म यस्तो अभूतपूर्ण र ऐतिहासिक शान्तिपूर्ण आन्दोलन कहिल्यै नभएको भन्दै अध्यक्ष महतोले शान्तिपूर्ण आन्दोलन प्रति जनताको भरोशा हट्न दिन नहुनेमा  जोड दिए । मधेसका माग पुरा गराउनका लागि मोर्चाले अन्तिम धक्का दिने तैयारी गरिरहेको समेत उनले बताए  ।

संविधान जारी भएको ३ महिना पुगेको दिन पुस ३ गते अन्तिम  धक्का दिनेगरि मधेसी जनतालाई आन्दोलनमा उतार्ने तयारी भैरहेको उनले बताए । मधेशी मोर्चाका नेताहरुको पछिल्लो भारत भ्रमण निकै फलदायी भएको दाबी गर्दै उनले भने ,‘ मधेशको मुद्दा र माग बारे भारत लगायत अन्तिराष्ट्रिय जगतलाई समेत जानकारी गरायौं, राज्यका तर्फबाट फिजाईएको गलत भ्रमलाई चिर्ने काम पनि भयो ।  पत्रकार सम्मेलनमा बोल्दै संघिय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले आन्दोलनलाई अझै सशक्त र प्रभावकारी बनाउने तयारी भैरहेको बताए ।