दुर्घटनामा शरणार्थी महिलासहित दुईको मृत्यु
विराटनगर, २७ मंसिर । मोरङका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परेर भुटानी शरणार्थी महिलासहित दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मोरङको बेलबारी ६ स्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा आज बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प ६०५ नम्बरको मोटरसाइकलका चालक मेचीनगर नगरपालिका २ का ५५ वर्षीय हरिप्रसाद खनालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताउनु भयो ।
गम्भीर घाइते खनालको उपचारका लागि न्यूरो अस्पताल विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रनि थापाले बताउनु भयो । दुर्घटनामा परेर टाउकोमा चोट लागेपछि गम्भीर घाइते बनेकी हरिप्रसादकी श्रीमती सुकुन्तला खनालको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनामा परेर को ११ प ४६४३ नम्बरको मोटरसाइकल मोटरसाइकल चालक तेह्रथुमजिरिखिम्ती ८ का ३४ वर्षीय यादवमणी दाहालपनि घाइते भएका छन् । दुबै मोटरसाइकलर भेनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै मोरङको पथरीशनिश्चरे ८ स्थित पूर्व पश्चिम राजमार्गमा तीब्र गतिमा काठमाडौं जाँदै गरेको रात्रि बसको ठक्करबाट हिजो साँझ एक जना भुटानी शरणार्थी महिलाको मृत्युभएको छ । ना ५ ख ४१६२ नम्बरको बसको ठक्करबाट पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरको सेक्टर १९ को हट नम्बर ४९ मा बस्दै आएकी ३४ वर्षीय वीरमायाँतामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताउनु भयो। बसले दुई जना महिलालाई एकै पटक ठक्कर दिएकोमा वीरमायाँको घटनास्थलमै मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी शरणार्थी शिविर सेक्टर ११ को हट नम्बर ६५ मा बस्दै आएकी ४४ वर्षीय ज्योतीमायाँ मगर गम्भीर घाइते भएकी छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस र चालक झापा दमक १४ का ४७ वर्षीय दिलबहादुर धिमाललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ
।