दशजगामा भारतले बनायो ३ मिटर अग्लो बाँध
काठमाडौं,२५ मंसिर । भारतीय वन विभागले नेपालको सहमतिबिनै कञ्चनपुर पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा माटो थुपारी तीन मिटर अग्लो बाँध बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइमा माटोको बाँध बनाउन सुरु गरिएको छ । दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग सहमति गर्नुपर्ने हुन्छ ।
सीमा क्षेत्रमा भारतीय पक्षले बनाइरहेका बाँधजस्तो देखिने आलीका सम्बन्धमा जानकारी लिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले बताउनुभयो । पुनर्वास नगरपालिका–१ मा पर्ने यस क्षेत्रमा भारतीय पक्षले बेलाबेलामा सीमा अतिक्रमण गरिरहेको स्थानीय बासिन्दा बताउँछन् । परासनको बीचफाँटामा भारतले २०६० साल देखि पटकपटक सीमाको अतिक्रमण गरिरहेको भन्दै क्षेत्र नं १ का सांसद दिवानसिंह विष्टले अहिले दशगजा नै मिचिने गरी बनाएको बाँध जस्तो संरचनाबारे संसद्को ध्यानाकर्षण गर्ने बताउनुभयो ।