Live Streaming

एकै पटक बोसो पग्‍लिदैन, होस गरौं

डा. अरुणा उप्रेती

कतिपय निजी औषधि पसलमा 'यहाँ सम्पूर्ण रोग, मुटु, पेट, कलेजो, हाडजोर्नी, महिलाको प्रजनन रोग, छालाको रोग, मानसिक रोग, लागूऔषध छोडाउने आदि को ग्यारेन्टीका साथ उपचार गरिन्छ' भनेर अक्षरमा विज्ञापन गरिएको बोर्ड देखिन्छ।

यस्तो भ्रममा कहिल्यै पनि नफस्नुहोला। अनेक तरिकाले डाक्टरहरूले ग्यारेन्टीका साथ उपचार गरिने कुराहरू त ठगहरूबाट मात्र हुन्छ।विज्ञापनले बजारमा के के नयाँ उत्पादन आइरहेछ भनेर आमउपभोक्तालाई सुसूचित गर्छ र उपभोक्ताले आफ्नो रोजाइ र खल्तीअनुसार वस्तु छान्न सक्छन्। तर 'स्वास्थ्य राम्रो पार्ने र अनेक समस्या ठीक पार्ने' भनेर गरिएका भ्रामक विज्ञापनको मारमा परेर कतिपय उपभोक्ताले ठगिएर आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सरेको देखिन्छ। विज्ञापन देखेर कुनै वस्तु प्रयोग गर्नुअघि राम्रोसँग सोच्नु जरुरी छ कि विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्नलायक छन्

  नेपालमा र भारतमा पनि कतिपय ठाउँमा त्यसैगरी ठगी गर्ने तथाकथित डाक्टरर त्यसैगरी ठगिने बिरामीको पनि कमी छैन । मानवीय कमजोरीहरूमध्ये सबभन्दा कमजोर विचारलाई समातेर विज्ञापन गर्दा मानिसहरू चाँडै फन्दामा परिहाल्छन् । त्यसैमध्ये एउटा हो, ‘यौनसम्बन्धी समस्याको समाधान गर्नेभन्ने विज्ञापन। 

 'धातु दुर्वलता, नपुंशकता, स्वप्नदोष आदिको आयुर्वेदिक तरिकाले औषधि ग्यारेन्टीसाथ उपचार गरिनेछ' भनेर गलत विज्ञापन विभिन्न ठाउँमा प्रचारप्रसार भइरहन्छ।अनि 'ग्यारेन्टीसाथ उपचार' हुने भनेर धेरै मानिस ठगिन पुग्छन्। नेपालमा त्यस्ता विज्ञापन केहीकेही फाट्टफुट्ट देखिन थालेको छ। 

 तराई भेगका मानिस भने भारतका सिमानामा सहरहरूमा गएर 'तथाकथित उपचार' गराउँछन् र धेरै पछि ठगिएको थाहा पाउँछन् र उनीहरू ठगिएपछि केही पनि बोल्दैनन् र अरूअरू पनि त्यसैगरी ती ठगको फन्दामा पर्छन् र यसैगरी त्यस्ता 'ग्यारेन्टीका साथ उपचार' गर्नेहरूको व्यापार फलिफुली रहन्छ।

 असम्भव कुरा वा चमत्कारमा विश्वास गर्नु हुँदैन भन्ने थाहा पाउँदापाउँदै विज्ञापनको जालोमा मानिसहरू फसिरहेका हुन्छन्। विशेषगरी हाम्रा यस्ता केही कमजोरी हुन्छन्, जसलाई समात्न विभिन्न मालसामान बनाउने कम्पनी र संस्थाले खूब जानेका हुन्छन्। त्यही कमजोरीलाई पक्रेर जब विज्ञापन हुन्छ तब माछा जालमा फसेझैं मानिसहरू फसिहाल्छन्।

 त्यस्तो गलत विज्ञापन रोक्ने अधिकार हामीलाई छैन। तर, भ्रमपूर्ण विज्ञापन र ग्यारेन्टीका साथभनेर लेखिने विज्ञापनहरूको त फन्दामा कहिल्यै नपर्नोस् भनी सूचित गर्ने अधिकारचाहिँ हामीलाई छ।अहिलेको जमानामा विज्ञापन गरेपछि जे पनि बिक्छ भनेर हो कि सम्भव हुँदै नहुने विज्ञापन गर्ने कम्पनी पनि छन् र ती कम्पनीलाई विश्वास गर्ने मानिसहरू पनि छन्।

 कतिपय विज्ञापनले आफ्नो वस्तुका बारेमा भन्दा नभएको र बढाइचढाइ गरेर विज्ञापन गर्छन् र त्यस्तो भ्रमपूर्ण विज्ञापनको प्रभावमा परेर मानिसहरू जीवनमा ठगिइरहेका हुन्छन्। भ्रमपूर्ण विज्ञापनकै प्रभावमा आवश्यक नै नपरेका कुरा पनि किन्ने गरिन्छ, थोरै खर्च गर्ने ठाउँमा धेरै खर्च गरिन्छ।

 'कुनै भोजनमा सुनचाँदी मिसिएको छ र त्यसले बालबालिका भीमसेनजस्तो बलवान् र आइन्सटाइनजस्तो बुद्धिमान् हुन्छन्' भनेर विज्ञापन गर्दासमेत कसैले पनि यो गलत विज्ञापन हो भनी ठान्दैनन्। साँच्चि नै 'बुद्धिमान् र बलवान्' बनाउन सकिन्छ 'सुनचाँदी मिसिएको वस्तु खाएर' भनी विचार गर्छन्।

 विश्वास गर्नोस्, संसारमा त्यस्तो भोजन हुँदैन जसले मानिसलाई बुद्धिमान् बनाउन सक्छ।सुनचाँदी मिसिएको वस्तु खाएर बुद्धिमान् हुने भए त राजा र करोडपतिका सन्तान सबै 'आइन्सटाइनजस्तो बुद्धिमान्' हुने थिए होलान्।

 अहिले विभिन्न पत्रपत्रिका टीभी, रेडियो आदिका विज्ञापनमा 'मोटोपन घटाउने' बारेमा धेरै विज्ञापन देखा परेका छन्। 'मोटो मानिसले खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्न नपर्ने, नथाकिने, खालि एक क्याप्सुल औषधि बिहान-बेलुका खाए पुग्ने' जस्तो विज्ञापनले त मुटुमा यसरी छुन्छ कि मोटाहरू त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन्। 

 त्यस्तै प्रकारले 'कम्मरपेटी बाँधेर केही क्षण बसेपछि पसिना निस्कन्छ अनि कम्मर एक इन्च घटिहाल्छ' भन्नेजस्ता लोभलाग्दा कुरा विज्ञापनमा आएपछि कम्मर घटाउन चाहने मानिसहरू त्यो पेटी किन्न तयार हुन्छन्।शरीरभित्रको बोसो एकैचोटि पगाल्ने कुनै औषधि हुँदैन। 

 त्यस्तो औषधि हुँदो हो त अमेरिकाका २५ प्रतिशत जनसंख्याले सो औषधि प्रयोग गर्थे होलान्। कम्मरपेटी बाँधेर एकैछिनमा पसिना निस्कँदा कम्मरको नाप ३४ इन्चबाट ३३ इन्च हुँदो हो त त्यस्तो खालको कम्मरपेटी हाताहात बिक्री हुन्थ्यो होला। एक दिनमा एक इन्च घट्ने कम्मर १० दिनमा १० इन्च नै घट्थ्यो होला।

 के यो सम्भव छ त? कम्मरको नाप १० दिनमा १० इन्च घट्न शरीरको तौल कति कम हुनुपर्छ? यसतर्फ विचार गर्दा यो सम्भव देखिँदैन। तैपनि सञ्चारमाध्यममा लगातार आकर्षक ढंगले प्रसारित विज्ञापनले धेरै मानिस प्रभावमा पर्छन्।

शरीरभित्रको बोसो एकैचोटि पगाल्ने कुनै औषधि हुँदैन। त्यस्तो औषधि हुँदो हो त अमेरिकाका २५ प्रतिशत जनसंख्याले सो औषधि प्रयोग गर्थे होलान्। कम्मरपेटी बाँधेर एकैछिनमा पसिना निस्कँदा कम्मरको नाप ३४ इन्चबाट ३३ इन्च हुँदो हो त त्यस्तो खालको कम्मरपेटी हाताहात बिक्री हुन्थ्यो होला।

त्यसमाथि टेलिभिजनमा सुडौल खालकी महिलाले आएर 'आफू पहिला मोटी भएको तर औषधि खाएर वा कम्मरपेटी लगाएर पातलो भई जीवन नै अर्को भएकोभनेपछि धेरै मानिस विज्ञापनमा विश्वास गरी सामान किन्न पुग्छन्।

 साँच्चि यसरी औषधि र पेटीको कारणले शरीरको तौल घट्ने भए डाक्टरहरू त्यसमाथि पनि मुटुरोग विशेषज्ञहरूले बिरामीलाई यिनै औषधि वा पेटी किन्न सिफारिस गर्थे होलान्। मोटोपनका कारण धेरै मानिस मुटुका बिरामी भइरहेका छन् र डाक्टरले पहिलो सल्लाह नै तौल घटाउने दिन्छन्।

 औषधि वा पेटीकै कारण तुरुन्तै तौल घट्ने भए मुटुरोग विज्ञले मोटा व्यक्तिलाई यस्तै सामान सिफारिस गर्नुपर्ने हो तर त्यसो गरेको पाइँदैन।चिनीरोग भएका मोटा व्यक्ति तथा मुटुको रोग भएर तौल घटाउनुपर्ने रोगीलाई खानेकुरा कम गर्ने, व्यायाम गर्ने आदिको सट्टा यस्ता विज्ञापन भएका वस्तु उपयोगी भएको हुनुपर्ने हो तर त्यसो भएको पाइँदैन।

 मोटा व्यक्तिलाई खानेकुरा कम खाएर र व्यायाम गरेर महिनौं लाग्ने काम त औषधिको एउटा चक्कीले हुने भए शारीरिक र मानिसक रूपमा दुःख गरिरहनुपर्ने थिएन। तर यस्तो गलत विज्ञापनको मारमा परेर धेरैले आफ्नो शरीर बिगारेकाले स्वास्थ्यकर्मीले आजकल यसबारे बोल्न थालेका छन्।

 आफ्नो व्यापार बढोस् भनेर छल गर्ने र झूठो कुरा गर्नेलाई कानुनले सजाय त दिन सक्दैन तर यस्तो गलत, ठगी कुरा गरेर विज्ञापन गर्नेहरूलाई उपभोक्ताले बेवास्ता गरेर, ती मालसामान नाकिनेर नै उनीहरूलाई दनक दिनु उपयुक्त हुन्छ। अन्नपूर्ण