कर तिर्ने म्याद एक महिना थप
काठमाडौं,२५ मंसिर। मुलुकमा विद्यमान असहज स्थितिका कारण करदाताले समयमै कर बुझाउन नसक्ने स्थिति आएपछि सरकारले आयकर र मूल्य अभिवृद्धि कर तिर्ने म्याद एक महिना थप गरेको छ । भुकम्प र नाकाबन्दीका कारण उद्योग व्यवसाय कलकारखाना ठप्प बनेपछि करदाताहरुले कर समयमै बुझाउन नसक्ने स्थिति बनेको हो । सोहि अनुसार विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिकको करको म्याद तेस्रो पटक थपेर पुष मसान्तसम्म बुझाउन सक्नेगरी व्यवस्था मिलाएको छ ।
जसअनुसार मूल्य अभिवृद्धि कर र अन्तशुल्कतर्फ चालु अर्थिक वर्षको पहिलो चौमासिकको विवरण र कर बुझाउने म्याद थपिएको छ भने शिक्षा र स्वास्थ्य सेवा करतर्फ गत आर्थिक वर्षको २०७१÷०७२ को तेस्रो चौमासिक र चालु आर्थिक वर्षको पहिलो चौमासिक विवरण र कर बुझाउने म्याद थप गरिएको विभागले जनाएको छ । यस्तै कर छुट प्राप्त पाएका संस्थाले गत आर्थिक वर्ष २०७१÷०७२ को आय विवरण बुझाउने र कर तिर्ने म्याद थप गरिएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो चौमासिकको अग्रिम कर कट्टीको विवरण बुझाउने म्याद पनि थप गरिएको छ । यसअघि करदाताहरुले म्याद बढाइदिन आन्तरिक राजश्व विभागलाई आग्रह गरेका थिए ।