Live Streaming

भूकम्प पीडितले विनाधितो दुईलाख ऋण पाउने

काठमाडौं,२० मंसिर । भूकम्प पीडितले दोहारो सुविधा लिन नपाउने अघिल्लो सरकारको निर्णयलाई सच्याउँदै वर्तमान सरकारले पीडितहरुलाई विना धितो दुई लाख रुपैया ऋण दिने तयारी गरेको छ । दुई लाख रुपैया सरकारी राहत पाउनेले सहुलियत ऋण नपाउने अघिल्लो सरकारको निर्णयलाई सच्याउँदै सरकारले दुई लाख राहत पाउने भुकम्प पीडितले थप दुई लाख सहुलियत ऋण विना धितो उपलब्ध गराउने तयारी गरेको हो ।

पुननिर्माण प्राधिकरणको समेत जिम्मेवारी पाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले सामूहिक जमानीमा दुईदेखि तीन लाख सहुलियत ऋण सामूहिक जमानीमा उपलब्ध गराउने गृहकार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार, दुई लाख रुपैयाँंमा सरकारी मापदण्डको घर बन्दैन भन्ने बुझेर सरकारले विना धितो सहुलियत ऋण उपलब्ध गराउने गृहकार्य थालेको हो । यस बारेमा राष्ट्र बैंकले कार्यविधि बनाइरहेको खतिवडाले बताउनुभयो ।

यसअघि सरकारले गाउँमा १५ लाख र शहरमा २५ लाख रुपैयासम्म ऋण दुई प्रतिशत व्याजदरमा सम्पति धितो राखेर उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले उपलब्ध गराउने दुई लाख रुपैया राहत लिनेले १५ लाख वा २५ लाख रुपैया ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।  सरकारले चार चरणमा उपलब्ध गराउने दुई लाख रुपैयालाई पनि तीन चरणमा सहज प्रक्रियाबाट उपलब्ध गराउन लागेको छ । यसअघि राहत वितरण गरिएका संयन्त्र मार्फत नै उपलब्ध गराउन खोजिएको छ खतिवडाले जानकारी दिनुभयो ।