अनुगमन प्रभावकारी भएन
काठमाडौं,२० मंसिर । इन्धनमा भइरहेको कालोबजारी नियन्त्रणका लागि बनेको सरकारी संयन्त्रले प्रभावकारी अनुगमन गर्न सकेको छैन । वाणिज्य तथा आपुर्ति मन्त्रालय, विभागलगायत सरोकारवाला निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा खुलेआम कालोबजारी फस्टाइरहेको छ । खासगरी राजधानी उपत्यकामा कयांै गुणा बढी मूल्य लिएर इन्धन बेच्नेहरु बजारमा थुप्रै भेटिन्छन् । सरकारी अधिकारीहरुको मिलोमतोमै हाल बजारमा कालोबजारी मौलाएको उपभोक्ता अधिकारीवादीहरु बताउँछन् ।
बजारमा पेट्रोल डिजेलसँगै खाना पकाउने एलपी ग्यासमा कालोबजारी हुँदा र सरकारी संयन्त्रसँगै अन्य सरोकारवाला निकायले समेत चासो नदिंदा उपभोक्ताहरु खुलेरै ‘ब्ल्याक मार्केट’बाट किन्न थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमेल्सेनाले दाबी गर्नुभयो । यद्यपि जिम्मेवार सरकारी निकाय अहिले बजारमा देखिएको अवस्थालाई कालोबजार भन्न नमिल्ने दाबी गर्छन् ।
वाणिज्य तथा आपुर्ति व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भारतबाट इन्धनका ट्याङ्करहरु नआएको अवस्थामा सर्बसाधारणहरुले थोरै थोरै गरी ल्याएको इन्धन केहि महंगोमा बेचेर सडकमा गाडी गुड्न पाएकाले त्यसलाईै कालोबजारी भन्न नहुने बताउनुभयो । बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव जिवराज कोइरालाको नेतृत्वमा गठन गरिएको सरकारी संयन्त्रले सरकारी अधिकारीहरुमाथि पनि अनुसन्धान गर्ने अधिकार पाएको भए पनि अहिलेसम्म कसैलाई कारवाही गर्न सकेको छैन ।
त्यसअघि ग्यासको आपुर्ति व्यवस्थापनका लागि भन्दै आपुर्ति व्यवस्था विभागका अनुगमन निर्देशक हरीनारायण बेलबासे नेतृत्वमा पनि कन्ट्रोल रुम नामक संयन्त्र गठन गरिएको थियो । सो संयन्त्रले पनि खासै प्रभावकारी काम गर्न नसकेको गुनासो उपभोक्ताले गरेका छन् ।