Live Streaming

​मधेशी मोर्चासँंग आज बेलुका निर्णायक वार्ता हुने

काठमाडौं,१८ मंसिर  प्रमुख दलहरुले आन्दोलनरत मधेशी मोर्चाका शीर्ष नेताहरुसँंग वार्ताको तयारी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चाका नेताहरुसँंग टेलिफोनमा अनौपचारिक छलफल गरिरहनुभएको र आज साँझसम्ममा त्रिपक्षीय वार्ता हुने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । मधेशी मोर्चाको २ ठूला घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तलमोपा अध्यक्ष महन्थ ठाकुर हिजो काठमाडौं आइसक्नुभएको छ ।

प्रमुख ३ दलबीच सरकारले ल्याएको संविधान संसोधन प्रस्तावमा मोर्चाको माग समेट्न आवश्यक परिमार्जन गर्ने र प्रदेशहरुको सिमांकनको विवाद संघीय आयोग वा सर्वदलीय संयन्त्रको सिफारिसका आधारमा हेरफेर गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुश्मा स्वराजसंँंग गर्नुभएको टेलिफोन वार्तापछि भारतले मधेशी मोर्चालाई सहमतिमा अघि बढ्न र आन्दोलनलाई निकास दिन दवाव बढाएको बताइएको छ ।

सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस र मधेशी मोर्चाका शीर्ष नेताको अब बस्ने त्रिपक्षीय बैठकले निकास निकाल्नेमा प्रमुख दलका नेताहरु आशावादी देखिएका छन् । मधेशी मोर्चाका नेताहरु भने संघीय आयोग वा राजनीतिक समितिमार्फत सिमांकन विवाद टुंगो लगाउने प्रमुख दलहरुको प्रस्ताव स्विकार्न नसकिने प्रतिक्रिया दिएका छन् ।