Live Streaming

सरकार र मधेशी मोर्चाबीच आज साँझ वार्ता हुँदै

फाइल फोटो

काठमाडौं, १८ मंसिर  ।
प्रमुख दलहरुले आन्दोलनरत मधेशी मोर्चाका शीर्ष नेताहरुसंग आज साँझ बार्ता गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आन्दोलन मोर्चासंग आज साँझ ५ बजे बालुवाटारमा औपचारिक बार्ता हुने प्रधानमन्त्री निकट श्रोतले बताएको छ । त्यसअघि आजै मुख्य तीन दलबिच पनि छलफल हुने भएको छ । तीन दल र मधेसी मोर्चाबीचको आजको बार्ता संभवतः निर्णायक हुने अपेक्षा गरिएको छ । भारतले पनि संविधान संशोधनको विधेयकलाई अघि बढाउने र मधेसले राखेका मागलाई राजनीतिक तहबाट सम्बोधन गर्ने प्रतिवद्धता आएमा नाकाबन्दी खोल्ने संकेत गरेपछि दलहरु निर्णायक वार्ताका लागि गृहकार्यमा जुटेका हुन् ।

 त्यसैको तयारी स्बरुप सत्तारुढ एमालेले स्थायी समितिको बैठक आब्हान गरेको छ भने कग्रेशले पनि पदाधिकारीहरुसंग छलफल गर्दैछ । उता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीका वरिष्ठ नेताहरुसँग आन्तरिक परामर्श गर्दैहुनुहुन्छ । प्रमुख ३ दलबीच सरकारले ल्याएको संविधान संसोधन प्रस्तावमा मोर्चाको माग समेट्न आवश्यक परिमार्जन गर्ने र प्रदेशहरुको सिमांकनको विवाद संघीय आयोग वा सर्वदलीय संयन्त्रको सिफारिसका आधारमा हेरफेर गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुश्मा स्वराजसंग गर्नुभएको टेलिफोन वार्तापछि भारतले मधेशी मोर्चालाई सहमतिमा अघि बढ्न र आन्दोलनलाई निकास दिन दबाब बढाएको बताइएको छ ।

यसैबिच मुख्य तीन दलबाट सकारात्मक नतिजा आउने भन्दै मधेशी मोर्चाको २ ठूला घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तलमोपा अध्यक्ष महन्थ ठाकुर हिजो नै काठमाण्डौ आइसक्नुभएको छ ।