Live Streaming

चेपाङ परिवारको बिचल्ली

काँकडभिट्टा (झापा), १७ मङ्सिर । झापा जिल्लामा बसोबास गर्दै आएको एकमात्र चेपाङ परिवार घरवासको ठाउँ नभएर बिचल्लीमा परेको छ । मेचीनगर१० काँकडभिट्टामा विगत १७ वर्षदेखि तोयानाथ चेपाङ उनकी पत्नी र चार छोरीका साथ रहँदै आएका छन् । रिक्सा चलाएर र सानोतिनो व्यापार गरेर जीविका चलाउँदै आएको चेपाङ परिवार सुरुका पाँच वर्ष डेरामा र २०५६ सालदेखि मेचीनगर१० काँकडभिट्टाकै जनसक्रिय टोलमा ऐलानी भनिएको चार धुर जग्गामा छाप्रो बनाएर बस्दै आएको थियो । 

पुरानो चित्राको छाप्रो भत्किएपछि गत महिनादेखि चेपाङले ऋण खोजेर सिमेन्टको पिल्लर राखेर नयाँ घर निर्माण थालेका थिए । तर जग्गा अतिक्रमण गरेर घर निर्माण गरेको आरोप लगाउँदै सँधियार जग्गाधनीले जिल्ला प्रशासन र मेचीनगर नगरपालिका कार्यालयमा चेपाङको घर निर्माण रोक्न उजुरी दिएपछि चेपाङ परिवारको बिचल्ली भएको हो । 
जग्गाको हक बेहक नछुट्टिएसम्म घर नबनाउन मेचीनगर नगरपालिका र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चेपाङलाई एक साताअघि निर्देशन दिइसकेको छ । 

नयाँ घर नबनेको र पुरानो छाप्रो भत्किएको हुँदा चेपाङ परिवार हाल शौचालयसँगै जोडिएको साँघुरो ठाउँमा खाट राखेर बसोबास गर्दै आएको छ । बिचल्लीमा परेका तोयानाथ चेपाङले आफूले घर बनाउन थालेको जग्गा ऐलानी रहेको दाबी गरेका छन् । शौचालयसँगै खुला रूपमा जोडिएको कोठामा बस्न गाह्रो भइरहेको र चिसोले सताउन थालेको उनले बताएका छन् । 
चेपाङ परिवार बसोबास गर्दै आएको सो चार धुर जग्गा ऐलानी भएको दाबी गर्दै चेपाङ परिवारलाई उठीवास हुन नदिइने मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष डिल्लीराम घिमिरे बताउनुहुन्छ । 
चेपाङ परिवार बसेको जग्गा नम्बरी पर्दैपर्दैन” – तत्कालीन काँकडभिट्टा गाविसका पूर्व अध्यक्षसमेत रहनुभएका घिमिरे भन्नुहुन्छ– “जिल्लाकै एकमात्र चेपाङ परिवारलाई बसोबासको व्यवस्था मिलाउनु पर्नेमा बसिरहेको थातथलोबाट उल्टै उठीवास लगाउने कार्य गलत हुन्छ ।” मेचीनगर नगरपालिकाको सहरी विकास शाखाका इन्जिनियर कमल कोइरालाले कानुनबमोजिम सबै चल्नुपर्ने भन्दै जग्गाको नापी गरेर हक बेहकबारे छिनोफानो गरिने बताउनुभयो । रासस