हिम्मत भए सेना परिचान गर : मधेसी मोर्चा
काठमाडौं,१७ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले हिम्मत भए सेना परिचालन गरेर देखाउन सरकारलाइ चेतावनी दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज धनुषाको ढल्केवरमा गरेको विरोधसभालाइ सम्बोधन गर्दै संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको हिम्मत भए सेना परिचालन गरेर देखाउन चुनौति दिनुभएको हो । अध्यक्ष यादवले सेनासँग मधेसी जनता नडराउने बताउनुभयो । आफुहरु बार्ताको पक्षमा रहेपनि सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको यादवले बताउनुभयो ।
सरकारले राजनीतिक समस्याको समाधान बन्दुक मार्फत गर्न खोजे परिणाम अतिनै भयानक हुन सक्ने चेतावनी दिनुभयो । यादवले एकातर्फ वार्ताको कुरा गर्ने र अर्को तर्फ नयाँ सुरक्षानिति ल्याउने काम गरेर सरकारले समस्यालाई अझ बल्झाउन खोजेको बताउनुभयो । उहाँले मधेसको माग राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताउनुभयो । आफुहरुले सिमानाका केन्द्रित आन्दोलन गरेकाले इन्धन लगायतको अभाव भएको भन्दै उहाँले सरकारले भने भारतीय नाकाबन्दी भनेर भ्रम छरेको दाबी गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राज्यसत्ताले सधैं आफूहरुलाई ठग्दै आएकोमा यसपटक नठगिने बताउनुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीकाअध्यक्षमहन्थ ठाकुरले अहिलेको अवस्थामा नेपाललाई दुर्घटनाबाट जोगाउनु छ भने सरकारले समयमै सोच्नु आवश्यक रहेको बताउनुभयो । मधेसको समस्या देशभित्रै समाधान गर्नुको साटो छिमेकी देशहरु भारत र चिनलाई मित्र र शत्रुको रुपमा परिभाषित गर्ने कार्य भविष्यको लागि ठूलो खतरा रहेको ठाकुरको भनाई छ । सरकारले वार्तामार्फत समाधान नखोजेको उहाको आरोप छ ।