मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर जीउँंदै जलाए
काठमाडौं,१७ मंसिर । कालोबजारीका लागि इन्धन ल्याएको विषयमा विवाद हुँदा नवलपरासीको सनई गाविस–९ पडरी गाउँमा मोर्चाका कार्यकर्ताहरुले एक युवालाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पेट्रोल छर्केर आगो लगाइएका यूवक १८ वर्षीय सन्दीप यादव नजिकै रहेको खोलामा कुदेर ज्यान जोगाउन सफल भएका छन् । रुपन्देहीको फर्साटिकर घर भइ लामो समयदेखि फुपुको घरमा बस्दै आएका यादवको अहिले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।
आगोबाट उनको दुईवटा खुट्टा जलेको छ । इन्धन ल्याउने कसैलाइ रोक्ने र कसैलाइ छोड्ने गरेको विषयमा विवाद भएपछि मोर्चाका कार्यकर्ताहरुले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको उपचाररत यादवले बताए । आगो लगाएर जिउँदै मार्ने प्रयास गरेको भन्दै घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सनई–९ का शिवकुमार यादव, राजेश सैथवार र सनई–८ का से यादव छन् ।