Live Streaming

आज त्रिपक्षीय वार्ता हुने

काठमाडौं,१६ मंसिर । आन्दोलनरत मधेशी मोर्चा, सत्तापक्षीय दल र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसबिच आज साँझ वार्ता हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अस्ति सोमबार भएको पहिलो चरणको त्रिपक्षीय वार्तामा मधेशी मोर्चाको ११ बुँदे माग सम्वन्धमा आज गम्भिर वार्ता गर्ने सहमति भएको थियो । आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने कार्यक्रम छ । सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले आजको वार्तामा लचिलो भएर प्रस्तुत हुने बताएका छन् ।

प्रदेशहरुको पुर्नसिमांकन गरिनुपर्ने मोर्चाको मागप्रति विगतमा नकारात्मक रहेको एमालेका शीर्ष नेताहरुको हिजोको बैठकले त्यसबारे आज लचिलो भइ वार्ता गर्ने निर्णय गरेको हो । एमाले महासचिव इश्वर पोखरेलले औचित्य, अनुभव र अभ्यासका आधारमा सिमांकन परिवर्त गर्न एमाले तयार रहेको बताउनुभयो ।

त्यसैगरी नेपाली कंग्रेसका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरुको हिजो साँझ बसेको बैठकले राजनीतिक सहमतिका आधारमा समस्याको समाधानमा जोड दिंदै वार्ताका क्रममा आउने सबै बिषयमा सकारात्मक तथा खुला दृष्टिकोणसहित प्रस्तुत हुने निर्णय गरेको थियो । मधेशी मोर्चाका मागबारे प्रमुख दलहरुले साझा धारणा बनाउने बताएपनि अहिलेसम्म त्यसबारे छलफल गरेका छैनन् । कंग्रेस एमालेका नेताहरुले आजको वार्ताअघि साझा धारणा बनाउन प्रयास गरिने बताएका छन् ।