Live Streaming

त्रिपक्षीय बैठक निश्कर्षहीन

काठमाडौं,१४ मंसिर । तराई मधेशमा जारी आन्दोलनको निकाश खोज्न बसेको मधेशी मोर्चा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरुको बहुप्रतिक्षीत त्रिपक्षीय बैठक पर्सी साँंझ पुनः बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टा चलेको बैठकमा सबै पक्षले आफ्ना धारणा राखेको सहभागी नेताहरुले बताएका छन् । बुधबार साझ पुनः बस्ने गरी आजको बैठक सकिएको एमाले नेता माधव कुमार नेपालले जानकारी दिनुभयो ।

आजको बैठकमा दलहरुबीच तराइमा एक अर्काको कार्यक्रम नबिथोल्ने र सबै पक्षले संयम अपनाउने सहमति भएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । तराई मधेशमा साढे ३ महिनायता जारी आन्दोलनको निकाश खोज्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा त्रिपक्षीय बैठक बसेको हो । बैठकमा कंग्रेसबाट सभापति सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट प्रधानमन्त्री ओली, झलनाथ खनाल, माधव नेपाल, इश्वर पोखरेल सहभागि हुनुहुन्थ्यो ।

यसैगरी एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालबाट अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार तथा राप्रपाबाट महामन्त्री दीपक बोहरा सहभागी हुनुहुन्थ्र्यो । मधेशी मोर्चाका तर्फबाट भने तमलोपा अध्यक्ष महन्थ ठाकुर र नेता हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरमबाट अशोक राई र राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण फोरम नेपालका लालबाबु राउत लगायत सहभागी हुनुहुन्थ्र्यो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव भने बिराटनगरमा रहेका कारण बालुवाटार बैठकमा सहभागि हुनु भएन ।

बैठकमा प्रधानमन्त्री ओलीले आन्दोलनका कार्यक्रम फीर्ता लिएर संविधान संशोधन मार्फत निकाश खोज्न प्रस्ताव गर्नु भएको थियो । नाकाबन्दीका कारण जनताले सास्ती व्यहोर्नु परेको भन्दै प्रधानमन्त्रीले दलीय अडान त्यागेर सबै पक्षलाइ निकाश खोज्न आग्रह गर्नु भएको बैठकको बिचमा बाहिरिएका उपप्रधान एवं रक्षामन्त्री भीम रावलले जानकारी दिनुभयो । मधेशी मोर्चाका नेताहरुले भने सीमाङकन सहित संविधान संशोधन हुनुपर्ने एक सुत्रीय अडान दोहो¥याएका थिए । अन्य बिषयमा छलफल भएपनि सीमाङकनमा बिषय प्रवेश नभएको संघीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राइले जानकारी दिनुभयो । लामो समयको संवाद हिनता तोडदै प्रधानमन्त्री ओलीले आज त्रिपक्षीय बैठक आह्वान गर्नुभएको हो । 

यसैबिच, राजधानीमा मधेस समस्याको निकास निकाल्न त्रिपक्षीय बैठक चलिरहंदा मधेशी मोर्चा भने बिराटनगरमा बैठक गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा जुटेको छ । सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनका अनुसार, मोर्चाको बैठकले अहिलेसम्मको आन्दोलनका कार्यक्रमको समिक्षा गरी आफ्ना माग पुरा गराउन दवाव स्वरुप थप कडा संघर्षका कार्यक्रम तय गर्नेछ । बालुवाटारमा भएको त्रिपक्षीय बैठकको आधारमा आन्दोलनका कार्यक्रम तय गरिने मोर्चाका नेताहरुले बताएका छन् । मोर्चाले यस अघि नै मंसीर २७ गते सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।