Live Streaming

आज स्मार्ट कार्डको प्रर्दशनी

काठमाडौं,१४ मंसिर । अन्तर्राष्ट्रिय स्तरको बिद्युतीय प्रविधिको स्मार्टकार्डको औपचारिक सुरुवातको तयारी गरेको सरकारले आज त्यस्तो कार्डको पहिलो प्रर्दशनी गर्दैछ । लामो समयको तयारी पछि अन्तराष्ट्रिय स्तरको स्मार्टकार्ड प्रयोगमा ल्याउने तयारी पुरा भएपछि आज नमुना स्मार्टकार्ड प्रर्दशन गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । विभागले एसियाली विकास बैंकको सहयोगमा हस्तलिखित लाइसेन्सको सट्टामा स्मार्ट कार्ड ल्याउन लागेको हो ।

स्मार्टकार्ड सवारी व्यवस्थापन एवंम् नक्कली लाइसेन्स नियन्त्रणका लागि प्रभावकारी हुनेछ । विभागले पहिलो चरणमा काठमाडौं, सिराहा र लुम्बिनी क्षेत्रका सवारी चालक अनुमतिपत्रधारीलाई स्मार्टकार्ड दिने तयारी गरेको प्रवक्ता अधिकारीले बताउनुभयो । विभागका अनुसार पहिलो चरणमा १ लाख ६० हजार कार्ड बितरण गरीनेछ । विभागले बितरण गरीने स्मार्टकार्डको सम्पूर्ण बिवरण संकलन यो हप्ताभरी गरिसक्ने र आगामी आइतबारदेखि सर्बसाधारणले प्रयोग गर्न पाउने जनाएको छ ।

 आगामी ३ वर्षभित्र यसलाई देशभर लागू गरिने विभागको लक्ष्य छ । स्मार्टकार्ड प्रयोगमा ल्याएपछि नक्कली लाइसेन्सको समस्या हट्ने, हराएमा ट्रयाक गरेर पत्ता लगाउन सकिने, १० वर्षको लामो आयु हुने सो कार्ड टिकाउ समेत हुने विभागका प्रवक्ता अधिकारीले बताउनुभयो । स्मार्टकार्ड लागू भएपछि अहिलेको कागजी लाइसेन्स तथा ब्लुबूक प्रणालीलाई क्रमशः विस्थापन गरिँदै लगिने विभागले जनाएको छ । अहिले सवारीचालक अनुमतिपत्र लिनेहरुको संख्या देशभर करीब २३ लाख रहेको विभागले जनाएको छ ।