Live Streaming

इटहरीमा विशेष सुरक्षा बैठक

काठमाडौं,१३ मंसिर । तराईमा तीन महिनायता जारी आन्दोलन र नेपालमा भारतीय सुरक्षाबल एसएसबीको ज्यादतीबारे समीक्षाका साथै आवश्यक सुरक्षा रणनीति तय गर्न सुनसरीको इटहरीमा उच्चस्तरीय सुरक्षा बैठक सुरु भएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेत समेत उपस्थित बैठकमा गृहसचिव नारायणगोपाल मलेगो, नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी र नेपाली सेनाका पूर्वी पृतना प्रमुख हरिबहादुर बस्नेतसहित पूर्वका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी छन् ।

सशस्त्र प्रहरीको पूर्वी मुख्यालय पकलीमा बसेको बैठक मधेस आन्दोलनका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बनेको, एसएसबीले नेपाली भुमिमा पसेर नेपालीमाथि गोली हानेको बिषयका साथै पूर्वको समग्र सुरक्षा स्थितिबारे केन्द्रित हुने गृह मन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । गृहमन्त्री बस्नेतले बैठक सकिएपछि देशको सुरक्षाको अवस्थाबारे सरकारको आधिकारिक धारण सार्बजनिक गर्ने बताउनुभयो ।