तामाकोशीको सेयर प्रमाणपत्र आजदेखि वितरण
काठमडौं,१३ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर पाएका सरकारी कर्मचारीले आजदेखि प्रमाणपत्र पाउने भएका छन् । तामाकोशीको सेयर प्राप्त गरेका सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी र अन्य ऋण पर्वाह गर्ने संस्थाका कर्मचारीले सेयर प्रमाणपत्र पाउने भएका हुन् । सेयरधनीले प्रमाणपत्र लिन जाँदा सेयर आवेदन फारमको अर्धकट्टी तथा नागरिकताको प्रतिलिपी ल्याउन कम्पनीले आग्रह गरेको छ ।
आयोजनाको सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह प्रबन्धक एनसिएम मर्चेन्ट एन्ड बैंकिङ लिमिटेडले आफूले दरखास्त बुझाएको स्थानबाट सेयर प्रमाणपत्र बुझ्न आग्रह गरेका हुन् । तामाकोशीले छुट्याइएको ३ करोड ६० लाख कित्ता सेयरमध्ये सञ्चयकोषका कर्मचारीलाई १ करोड ८२ लाख कित्ता, ३० लाख ४९ हजार कित्ता ऋण दिने संस्थाका कर्मचारीका लागि र ४० लाख ६६ हजार कित्ता नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गत जेठ २९ गते बाँडफाँड गरिएको थियो । सर्वसाधारणका लागि छुट्याइएको बाँकी १ करोड ५ लाख कित्ता सेयरको आवेदन भने खुला गरिएको छैन ।