इन्धन खरीदको सम्झौंता अन्यौलमा
काठमाडौं,६ मंसिर । चीनसँंग पेट्रोलियम पदार्थ खरीद सम्झौताका लागि २ दिन अघि नै बेइजिङ्ग जाने भनिएको सरकारी टोली अझै गएको छैन । आज पनि जाने÷नजाने एकीन भइनसकेको टोलीका एक सदस्यले बताए । स्रोतका अनुसार, खरिद गरिने इन्धनको मूल्य र त्यसमा लाग्ने करका बिषयमा चीनका लागि नेपाली राजदुत महेश मास्केले त्यहांका अधिकारीहरुसंग गरिरहनुभएको छलफल निष्कर्षमा पुगि नसकेकाले नेपालबाट टोली पठाउन ढिलाइ गरिएको हो ।
इन्धन खरिद सम्झौताका लागि वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरको नेतृत्वमा आयल निगम, गुणस्तर तथा नापतौल विभाग र परराष्ट्र तथा अर्थ मन्त्रालयका अधिकारी अस्ति शुक्रवार नै चीन जाने तयारी भइरहेको छ । नेपालमा भारतले गरेको नाकावन्दीका कारण इन्धनको चर्को संकट भएपछि सरकारले कुल खपत हुने इन्धनको एक तिहाई चीनबाट खरिद गर्ने गरी सम्झौताको प्रक्रिया अघि बढाएको हो । तत्कालिक संकट टार्न चीनले अनुदानस्वरुप दिएको १३ लाख लिटर पेट्रोल यसअघि नै नेपाल ल्याइसकिएको छ ।