हरिवोधनी एकादशी आज
काठमाडौं,६ मंसिर । आज हरिवोधनी एकादशी, भगवान विष्णु स्वरुपा तुलसीको पूजा आराधना गरी भक्तिभावपूर्वक मनाईंदैछ । असार शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेष रुपले पूजा गरी आज विवाह गरिदिने प्रचलन छ । धार्मिक मान्यता अनुसार असार शुक्ल एकादशीको हरिशयनीदेखि आज शुक्ल हरिवोधनी एकादशीसम्म चार महिना भगवान विष्णु शेषमा शयन गर्नुहुने भएकाले यस अवधिमा गरिएको चर्तुमास व्रतको अनुष्ठान आजकै दिनदेखि समाप्त भएको मानिन्छ ।
पौराणिक कथन अनुसार मुर नामक दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठुलो संघर्ष गर्नुपरेको थियो । युद्धको थकानबाट विश्राम लिन बद्री आश्रमको हेमवती गुफामा गई शयन गरेका भगवान विष्णु शयनबाट बिउँझिएको सम्झना स्वरुप आजको दिनलाई हरिवोधनी एकादशी भनिएको हो । यसैबीच, हरिबोधननी एकादशीको अवसरमा राजधानीको बूढानीलकण्ठमा आज मेला लाग्दैछ । बूढानीलकण्ठ नारायणको पवित्र तीर्थस्थलमा प्रत्येक वर्ष लाग्ने सो मेलामा यसपटक एक लाखभन्दा बढी भक्तजन सहभागी हुने आयोजक बूढानीलकण्ठ मेला सञ्चालन मूल समारोह समितिले जनाएको छ । मेला ९ गतेसम्म चल्नेछ ।