प्रहरीको गोली लागि दुई प्रर्दशनकारीको मृत्यु
सप्तरी, ६ मंसिर । सप्तरीको भारदह र रुपनीमा गएराती प्रहरीको गोली लागि मधेशी मोर्चासम्वद्ध २ प्रर्दशनकारीको मृत्यु भएको छ । राजमार्गमा सबारीसाधन एस्कर्टीङ गरी ल्याउने क्रममा मोर्चाका कार्यकर्ताले अबरोध गरेपछि भएको झडपमा प्रहरीले गोली चलेको थियो । गोली लागि सप्तरी गाढा ९ का वीरेन्द्र राम र जमुनी मध्यपुर ७ का नागेश्वर यादवको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय सगरमाथाका प्रमुख एसएसपी उत्तम सिंहले जानकारी दिनुभयो । झडपमा केहि प्रर्दशनकारी र एक निरिक्षक सहित ७ प्रहरी घाईते भएका छन् ।
उनीहरुलाई उपचारका लागि धरान र बिराटनगर लगिएको एसएसपी सिहले जानकारी दिनुभयो । भारदहमा एस्र्कटिङ गरिरहेको प्रहरीमाथि झण्डै २५ सय जनाको समूहमा रहेका प्रदर्शनकारीले घरेलु हतियार सहित आक्रमण गर्न खोजेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको सिंहले दावी गर्नुभयो ।
उहाँका अनुसार, रुपनीमा पनि झण्डै ८ सयको संख्यामा रहेका प्रर्दशनकारी प्रहरीबिरुद्ध आइलागेका थिए । अहिले रुपनी र भारदहमा प्रर्दशनकारीहरु जम्मा भएर प्रहरी बिरुद्ध प्रर्दशनको तयारी गरिरहेका छन् । घटनापछि पुर्बबाट राजधानीका लागि छुटेका तथा राजधानीबाट पुर्बका लागि छुटेका सबारी साधन बिच बाटोमै अलपत्र परेका छन् । भारदह र रुपनी लगायत राजमार्ग क्षेत्रमा आज बिहानैबाट सुरक्षाकर्मीको तैनाथी बढाईएको एसएसपि सिंहले बताउनुभयो ।