बिरामी बालक बोकेको एम्बुलेन्समाथि तोडफोड
कुमार लुइँटेल
बिराटनगर,४ मंसिर । उपचारका लागि ल्याउँदै बिरामी बालकलाई निकाल्नै नदिई मधेसी मोर्चाका कार्यकर्ताहरुले मोरङको कटहरीमा एउटा एम्बुलेन्समा तोडफोड गरेका छन् । बिरामी बालकलाई मोरङकै रंगेलीबाट उपचारका लागि कोशी अञ्चल अस्पताल ल्याउँदै गरेको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगा बर्साएका थिए ।
मोर्चाका कार्यकर्ताको आक्रमणबाट एम्बुलेन्सको अगाडिको वाइन्ड स्क्रिन पुरै फुटेको छ भने पछाडिको भागको शिशा पनि फुटेर क्षतिग्रस्त भएको छ । एम्बुलेन्समा आक्रमण गरी तोडफोड गरेको विरोधमा एम्बुलेन्स चालकहरुले शुक्रबारै जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । करिब ७० वटा एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा तेर्साएर सुरक्षा माग गर्दै चालकहरुले प्रदर्शन गरेका हुन् ।
धर्नामा बसेका एम्बुलेन्स चालकहरुसँगको छलफलपछि प्रमुख जिल्ला अधिकारी गणेशराज चालिसेले सुरक्षा दिने आश्वासन दिएका छन् ।मोर्चाका कार्यकर्ताहरुले विराटनगरको रोडशेष चोकबाट दक्षिणतर्फको सडक र कटहरीमा समेत राजमार्ग अवरोध गरिरहेका छन् ।