Live Streaming

औषधि बोकेको ट्रकमा आगजनी,जल्न लागेका चालकले ज्यान बचाए

क्रान्ति शाह

वीरगन्ज,४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि र औषधिजन्य सामाग्रीको ढुवानीमा अवरोध नगर्ने निर्णय गरेको मसी सुक्न नपाउँदै वीरगन्जमा आन्दोलनकारीहरुले औषधि बोकेको ट्रकमा आगजनी गरेका छन् । काठमाडौंमा बिहीबार साँझ बसेको मधेसी मोर्चाको बैठकले औषधि र औषधिजन्य पदार्थको ढुवानीमा अवरोध नगर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णयको १२ घन्टा नपुग्दै आन्दोलनकारीहरुले औषधि लोड भएको ट्रकमा आगजनी गरेका हुन् । 

वीरगन्ज उपमहानगरपालिका१४ श्रीपुरमा बिहीबार राति १ बजे आन्दोलनकारीहरुले औषधि लोड भएको ना २ ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेर आगजनी गरेका हुन् । आगजनीबाट ट्रकमा रहेको करिब २० लाख मुल्य बराबरको औषधि जलेर नष्ट भएको पर्साका प्रहरी उपरीक्षक राजुबा श्रेष्ठले जानकारी दिए ।शिवरात्री फर्मास्युटिकल्सको श्रीपुरमा रहेको गोदामबाट औषधि लोड गरेर सडक छेउमा राखिएको ट्रकमा आगजनी भएको हो । 

जनकपुरको नविनम मेडिकल हलका लागि स्लाइन पानी, आइभी र एन्टिबायोटिक औषधि लोड गरिएको ट्रकमा आन्दोलनकारीहरुले आगजनी गरेको शिवरात्री फर्मास्युटिकल्सका सञ्चालक पप्पु झाले बताए । औषधि लोड गरेर ट्रकको क्याबिनमा चालक सुतेकै अवस्थामा आन्दोलनकारीहरुले ट्रकमा आगजनी गरेका थिए । ट्रकमा लगाइएको आगोको धुवाँ गन्हाउन थालेपछि ब्युँझदा ट्रकको पछाडिको भागमा आगोको मु्स्लो दन्किरहेको देखेपछि स्थानीयवासीसँग गुहार मागेको चालक लक्ष्मण साहले बताए । 

वीरगन्ज उपमहानगरपालिका कार्यालयबाट आएको दमकलको सहायोगमा स्थानीयवासी ट्रकमा लगाइएको आगो निभाएको चालक साहले बताए । समयमै आगो निभाइएकाले ट्रकको क्याबिन र इन्जिनमा क्षति हुन नपाएको साहले बताए । 

मकै बोकेको ट्रक पनि जलाइयो

यसैगरी वीरगञ्जपथलैया सडक खण्डको हुलास बिस्कुट उद्योग अगाडि पनि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहिबार राति एउटा मालवाहक ट्रकमा आगजनी गरेका छन् ।  भैरहवाबाट मकै लिएर वीरगञ्ज आउँदै गरेको ना ३ ख ४१२७ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । वीरगञ्ज आउँदै गरेको ट्रकलाई बीचबाटोमै रोकेर मोर्चाका कार्यकर्ताहरुले आगो लगाएका हुन् । 

आगजनीबाट ट्रकमा मकै छोप्न प्रयोग गरिएको त्रिपाल मात्र जलेर नष्ट भएको प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक प्रमानन्द यादवले जानकारी दिए । प्रहरी टोलीले समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको उनले बताए ।