तेल अभावले ७० प्रतिशत आन्तरिक उडान रद्द
काठमाडौं,४ मंसिर । इन्धन अभावले आज झण्डै ७० प्रतिशत आन्तरिक उडान रद्द गरिएका छन् । नेपाल आयल निगमले आज काठमाण्डौमा इन्धन उपलव्ध गराउन नसक्ने जनाएपछि आजका लागि तय भएका दुई सयभन्दा बढी आन्तरिक उडानमध्ये ७० प्रतिशतसम्म रद्द गरिएकोे वायुसेवा सञ्चालक संघले जनाएको छ । काठमाडौंबाहिरका विमानस्थलमा इन्धन दिइने भनिएकाले ३० प्रतिशत उडान कायमै राखिएको संघका प्रवक्ता घनश्याम आचार्यले बताउनुभयो । सिम्रिक एअरलाइन्सका बजार निर्देशक प्रज्वल थापाका अनुसार निगमले पोखरा, विराटनगर, नेपालगन्ज र धनगढी विमानस्थलमा इन्धन उपलब्ध गराउने जानकारी दिएको छ ।
अधिकांश उडान रद्द गरिएका कारण संघले आजका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेरमात्रै विमानस्थल जान आग्रह गरेको छ । आयल निगमका लागि नेपाल वायुसेवा निगमका जहाजले दैनिक तीनवटा चार्टर उडान गरेर कलकत्ताबाट हवाई इन्धन ल्याउने गरेका छन् । तर हिजो बायुसेवा निगमको आन्तरिक कारणले इन्धन ल्याउन नसकेका कारण आज काठमाण्डौमा इन्धन दिन नसकेको आयल निगमले जनाएको छ । आज वायुसेवाले नियमित रुपमा तीन वटा उडानबाट इन्धन ल्याउने र भोलीबाट आन्तरिक उडान पुर्णत सञ्चालनमा निगमका अधिकारीहरुले बताएका छन् ।