Live Streaming

तलब नपाएको झोँकमा अनिश्चितकालिन तालाबन्दी

बेलौरी (कञ्चनपुर), ३ मङ्सिर । कञ्चनपुरको पहिलो नगर विकास समिति महेन्द्रनगर नगर विकास समितिका कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । कर्मचारीले भदौदेखि तलब पाएका छैनन् । 
सहरी विकास मन्त्रालयले नगर विकास समितिको नाउँमा अख्तियारमा मुद्दा परेको कारण देखाउँदै भदौदेखि कामकाज रोकेपछि तलब खान समस्या भएकाले कर्मचारीले हालसम्म तलब पाउन नसकेका हुन् । महेन्द्रनगर नगर विकास समितिका नायब सुब्बा पुष्पराज भट्टले लामो समयदेखि तलब नपाएका कारण कर्मचारीले अनिश्चितकालका लागि तालाबन्दी गरेको जानकारी दिनुभयो । 
उहाँका अनुसार बुधबारदेखि तालाबन्दी गरिएको हो । १० कर्मचारी कार्यरत रहेको नगर विकास समितिमा तालाबन्दी भएपछि दैनिक काम प्रभावित भएको छ । सदस्यसचिव जगदीश लामिछानेले काम रोक्काको विषयलाई दिएर कर्मचारीलाई तलब खुवाउन नसकेको समेत कर्मचारीले आरोप लगाएका छन् । तालाबन्दीका विषयमा नगर विकास समितिका अध्यक्ष सुरेन्द्र विष्ट र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबीच १५ दिनभित्र तलबको व्यवस्था गराउनेबारे छलफल भइरहेको छ ।

माग पूरा भए तालाबन्दी खोल्ने कर्मचारीले बताएका छन् । करोडौँका घडेरी बिक्री, लाखौँ घरभाडाबापत रकम आए पनि कर्मचारीले तलब खान सकेका छैनन् । कर्मचारीले तलब नपाएका कारण आफ्नो दसैँ–तिहारसमेत बिग्रेको गुनासो गरेका छन् । रासस