फेरि मिल्यो राप्रपा
काठमाडौं,३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वको आधिकारिकता सम्वन्धि विवाद समाधान भएको नेताहरुले घोषणा गरेका छन् । अध्यक्ष पशुपति शम्शेर जवरा र नेता लोकेन्द्र बहादुर चन्दले आज राजधानिमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर अब पार्टि एक भएको र कुनै मतभेद नरहेको बताउनुभयो । नेताहरुबीच भएको सहमतिमा चक्रीय प्रणाली अनुसार क्रमश लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष हुने गरी एकताको सहमति भएके अध्यक्ष राणाले बताउनुभयो ।
यसैगरी नेता चन्दले पनि अब कुनै मतभेद नरहेको र अध्यक्ष राणाको प्रस्ताव अनुरुप चक्रिय प्रणाली अनुसार नेतृत्व हस्तान्तरण गर्ने भएपछि विवाद साम्य भएको बताउनुभयो । तत्कालीन अध्यक्ष सूर्यबहादर थापाले राणालाई अध्यक्ष बनाएपछि चन्द समूह असन्तोष भई निर्वाचन आयोगमा पुगेको थियो । आफू आधिकारिक भन्दै राणा पनि आयोग जानुभएको थियो । विवाद साम्य भएको घोषणासँगै दुवै पक्षले उजुरी फिर्ता लिएका छन ।
आजको पत्रकार सम्मेलन कार्यक्रममा नेता लोहनी भने अनुपस्थित रहनुभएको थियो । केहि विषयमा सहमति हुन बाँकी रहेको र लोहनी पनि अहिलेको सम्झौतामा सहमत भएको नेताद्वय राणा र चन्दले दावी गर्नुभएको छ । विवादकै कारण वर्तमान सत्तासमिकरण भित्र रहेपनि राप्रपाले मन्त्रीको नाम बुझाउन सकेको थिएन भने करिब २ वर्षदेखि पार्टीको सांगठनिक काम समेत प्रभावित बनेका थिए ।