आजदेखि सरकारले निशुल्क बस सेवा संचालन गर्दै
काठमाडौं,३ मंसिर । सरकारले राजधानी उपत्यकामा बिरामीहरुको सुविधाका लागि आजदेखि निशुल्क बस सञ्चालन गर्ने भएको छ । बिहान ११ बजेदेखि साढे २ बजेसम्म ४ वटा सरकारी बस सञ्चालन गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पाटन अस्पताल र आसपास क्षेत्रमा जाने बिरामी, तीनका आफन्त र सर्वसाधारणका लागि सातदोबाटोबाट कोटेश्वर भक्तपुर क्यान्सर अस्पताल हँुदै पुनः पाटन अस्पतालको रुट तय गरिएको छ ।
यसैगरी, प्रसूतिगृह, वीर अस्पताल हँुदै टिचिङ अस्पताल र गंगालाल अस्पतालसम्म अर्को रुट छ । त्यस्तै, अर्को बस सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हँुदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर सोही रुट हुँदै फर्कने छ । चौथो गाडी निजामती अस्पतालबाट सहिदगेट हँुदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्ने मन्त्रालयका प्रवक्ता पौडेलले बताउनुभयो ।