Live Streaming

सुरक्षासहित रोकिएका २२ हजार ग्यास सिलिण्डर भित्रिदै

काठमाडौं,३ मंसिर । स्थानीयको अवरोधका कारण धादिङका विभिन्न स्थानमा रोकिएका विभिन्न कम्पनीमा २२ हजार सिलिण्डर ग्यास विशेष सुरक्षाकाबीच भोली रातीसम्म काठमाडौं भित्र्याइंदैछन् । स्थानीय प्लाण्टमा रिफिलिङ गरिएका ग्यास सिलिण्डर स्थानीयबासीको अवरोधका कारण विभिन्न स्थानमा अड्किएका छन् ।

स्थानीयले पहिला आफुले पाउनुपर्ने भन्दै प्लान्ट नै घेरामा हालेर अवरोध गरेका कारण ल्याउन नसकिएको र आज र भोली राती प्रहरीको कडा सुरक्षासहित काठमाडौं ल्याउने तयारी गरिएको ग्यास बितरण व्यवस्थापनका लागि गठित कन्ट्रोल रुपमा संयोजक हरीनारायण बेलबासेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी रोकिएकामा एचपिसी, एभरेष्ट, श्रीराम, सगर कम्पनीका ग्यास सिलिण्डरहरु छन् । 


यसैगरी नेपाल ग्यासले बिहीबार काठमाडौंमा दुई हजार ३० सिलिन्डर ग्यास वितरण गर्ने भएको छ । काठमाडौंका विभिन्न २६ स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल ग्यासले जनाएको छ । सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले ग्यास वितरण गर्न लागिएको हो । यसैबीच, भारतसंगको सिमानाकामा रोकिएका औषधि एस्कर्टीङ गरेर नेपाल भित्र्याइने भएको छ ।

औषधी व्यवस्था विभागले कलकत्ता बन्दरगाह तथा अन्य नाकामा रोकिएका औषधीका ट्रक ल्याउन विभिन्न पक्षहरुसँग छलफल भइरहेको विभागका महानिर्देशक बालकृष्ण खकुरेलले जानकारी दिनुभयो । विभागका अनुसार अनुसार कलकत्ता बन्दरगाह र अन्य नाकामा औषधी तथा कच्चा पदार्थ सहितको ४ सय भन्दा बढी ट्रक रोकिएका छन् । विभागले औषधी ल्याउनका लागि तेल उपलब्ध गराउन नेपाल आयल निगमसँग प्रस्ताव राखिएको र निगम सकारात्मक देखिएकाले विशेष सुरक्षाकाबचि औषधि ल्याइन लागेको विभागले जनाएको छ । सिमानाकामा जीवनदायी औषधि समेत रोकिएपछि नेपालमा चरम अभाव सृजना भएको छ ।