व्यापार सम्झौताका लागि सकारी टोली चीन जाँंदै
काठमाडौं,३ मंसिर । चीनबाट दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थ आपूर्तीको ब्यापारिक सम्झौताका लागि सरकारी टोली चीन जाने भएको छ । भारतले गरेको नाकाबन्दीका कारण इन्धन संकट भएको बेला अनुदानमा तेल दिएको चीन सरकारसंग नियमित रुपमा इन्धन आपूर्तिको ब्यापारीक सम्झौता गर्न नेपाली टोली चीन जान लागेको हो । आपूर्तिमन्त्री गणेशमान पुनले चीन भ्रमण गरेर सम्झौताको वातावरण बनाउनुभएको हो । ब्यापार सम्झौता भएको एकसाताभित इन्धन नेपाल आउने मन्त्री पुनको दावी छ ।
सम्झौता गर्न चीनका लागि नेपाली राजदूत महेशमान मास्केको नेतृत्वमा वाणिज्य तथा आपुर्ति मन्त्रालय, अर्थमन्त्रालय, नेपाल आयल निगमका अधिकारीसहितको प्रतिनिधि मण्डल भोलीसम्ममा चीन जाने तयारीमा रहेको निगमका महाप्रवन्धक गोपाल बहादुर खड्काले जानकारी दिनुभयो । यसैबीच चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल भित्रिएको छ ।
हिजो केरुङ नाका हुंदै ३५ वटा ट्याङकरबाट बांकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल नेपाल भित्रिएको र आज साझ सम्म सबै पेट्रोल रसुवागढीबाट हुँदै काठमाडौं आइपुग्ने आयल निगमले जनाएको छ । चीनले नेपाललाई अनुदानमा १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको थियो । नेपाली ट्याङकरले अफ्ठारो बाटो पार गर्दै चीनको केरुङ भन्दा ४ किलोमिटर माथि पुगेर इन्धन भरी नेपाल आएका थिए । नेपाल भित्रिएका सबै पेट्रोल थानकोट डिपोमा राखिएको छ ।