भारतीय नाकाबन्दीबिरुद्ध न्यूयोर्कमा विशाल प्रदर्शन
काठमाडौं,२ मंसिर । भारतले नेपालमाथि गरेको नाकाबन्दीको बिरोधमा अमेरिकामा रहेका नेपालीहरुले न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडी विशाल प्रदर्शन गरेका छन् । झण्डै दुई महिनादेखिको नाकाबन्दीका कारण नेपालमा इन्धन, औषधि लगायत अत्यावश्यक सामग्रीका साथै खाद्यवस्तुको अभाव भएको र नेपाली जनताले अत्यन्तै कठिन परिस्थितिको सामना गर्न बाध्य भएको भन्दै उनिहरुले तत्काल नाकाबन्दी हटाउन माग गरे ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको संयोजनमा भएको प्रदर्शनमा ठूलो संख्यामा नेपालीहरु उपस्थित थिए । उनिहरुले नाकाबन्दीबिरुद्ध राष्ट्रसंघ महासचिव बान की मुनलाई ज्ञापनपत्र पनि बुझाएका छन् । एनआरएन एन.सी.सी अमेरिकाका अध्यक्ष केशब पौडेलले भारतले नेपालमाथि गरेको ज्यादतीप्रति विश्व समुदायको ध्यानाकषर्ण गर्न राष्ट्रसंघ मुख्यालय बाहिर प्रदर्शन आयोजना गरिएको बताउनुभयो । नेपालीहरुले वासिङ्टन डीसीस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि यस्तै खाले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।