आन्तरिक हवाई यात्रु घटे
अन्नपूर्ण
काठमाडौ,,२ मंसिर । हवाई भाडा बढेका कारण आन्तरिक उडान र यात्रुसंख्या ह्वात्तै घटेको छ। नियमित उडानका आन्तरिक वायुसेवा कम्पनीले गत मंगलबारबाट लागू हुने गरी हवाई भाडा बढाएपछि यात्रु उडान ५० प्रतिशतसम्मले घटेको छ। गत सोमबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँबाट बढाएर दुई सय ७८ पैसा प्र्रतिलिटर कायम गरेपछि हवाई भाडा पनि उडान गन्तव्य अनुसार १२ सय देखि ४३ सय सम्मले बढेको थियो।
सिम्रिक एयरलाइन्सका बजार निर्देशक प्रज्जव थापाले हवाई भाडा बढेकोले नै आन्तरिक वायुसेवाको नियमित उडानमा नयाँ नयाँ बुकिङ ५० प्रतिशतले सम्मले घटेको जानकारी दिए। उनका अनुसार काठमाडौं-लुक्ला र काठमाडौं-जोमसोमको हवाई टिकटमा बढी चाप हुने र विदेशी यात्रु धेरै हुने भएकोले करिब एक महिना अगाडि नै बुकिङ हुन्छ।
अन्य गन्तव्यमा भने दुई-तीन दिनदेखि एक सातासम्मको मात्रै बुकिङ हुने गरेको छ। गत मंगलबारदेखि आइतबारसम्मको हवाई यात्रुको संख्याले करिब ५० प्रतिशत नै उडान र यात्रु घटेको देखिएको थापाले बताए।
सोमबारसम्म दैनिक पाँचवटा पोखरा, जोमसोम चार, माउन्टेन र लुक्ला तीन-तीन, भैरहवा एक र सातामा चारवटा खानीडाँडाको उडान रहेको सिम्रिक एयरको मंगलबारदेखि खानीडाँडाको उडान नै छैन। अन्य गन्तव्यमा पोखरा तीन, जोमसोम एक, माउन्टेन एक, भैरहवा र लुक्ला एक-एक उडान मात्रै छ।
अहिलेको समय पर्यटकीय सिजन भए पनि भूकम्पले घटाएका पर्यटकलाई नाकाबन्दीले ठप्प नै पारेको छ। अहिले हवाई भाडा बढेपछि त झन यात्रु आउनै छाडेको थापाको भनाइ छ।
भूकम्पपछि पर्यटक नआउँदा आन्तरिक वायुसेवाको विदेशी यात्रु ६० प्रतिशतले घटेका छन्। आन्तरिक उडानका यात्रु नेपाली नै धेरै हुने गरेकोले वायुसेवा कम्पनीले सेवा दिईरहेकामा अब ती नेपाली पनि हवाई भाडा महँगो भएपछि यात्रा गर्न निकै कम हुन थालेको पनि थापाको बुझाइ छ।
आन्तरिक हवाई यात्रु अहिले तिहार र छठको रौनकमा रहेको बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए। उनका अनुसार यात्रु त घटेका छन् तर हवाई भाडा नै महँगो भएरै हो या अन्य कारण भन्ने अबको एक हप्तापछि थाहा हुन्छ।
अहिले हवाई भाडा बढेर यात्रु घटेको भन्दा पनि नाकाबन्दीकै कारण यात्रु कम आएको हुनसक्ने भएकोले पनि उनको बुझाइ छ। गत वर्षसँग तुलना गर्ने हो भने यात्रु घटेको हो भनेर भन्न सकिने पनि जोशीले बताए।
हवाई यात्रु अनुसार उडान तालिका तय हुने भएकोले एक सतापछि कुन गन्तव्यमा कति उडान हुन्थ्यो कति घट्यो भनेर भन्न सकिने पनि जोशीले जानकारी दिए।