Live Streaming

​नाकाबन्दीका कारण अस्पतालमा अक्सिजन अभाव


हजारौं  बिरामीको जीवन संकटमा 

काठमाडौं,२ मंसिर । भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं बिरामीको जीवन संकटमा परेको छ । उपत्यकाका अधिकांश अस्पतालमा अहिले अक्सिजनको अभाव देखिन थालेको हो । नाकाबन्दी सूरु भए लगत्तै उपत्यकाका नौ वटा ठूला अस्पतालले अक्सिजनसहित अत्यावश्यक औषधि र इन्धनको व्यवस्था अबिलम्ब गर्न स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेपनि त्यसमा चासो नदेखाउँदा विरामीको जीवन संकटमा परेको हो ।

ती अस्पतालले एक महिनाअघि नै भारतीय नाकाबन्दीपछि अक्सिजनलगायत अत्यावश्यक औषधि र अन्य वस्तुको अभाव भएको जानकारी गराउँदै सरकारलाई पत्र लेखेका थिए। तर यत्रो समय बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया नआएपछि सरकारी अस्पतालका निर्देशक, प्रशासन प्रमुख र चिकित्सक आक्रोशित भएका छन् ।

उनीहरूले केही दिनमै शल्यक्रियासहित अत्यावश्यक सेवा बन्द गर्नुपर्ने अवस्था आएको पनि बताएका छन । यसैगरी नाकाबन्दीले आपूर्ति अवरुद्ध हुदाँ बजारमा रक्त संकलन झोला ब्लड ब्याग अभाव देखिन थालेको छ । उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था देखिएको छ ।