Live Streaming

औषधि अभावमा शल्यक्रिया प्रभावित

दीपा दाहाल

काठमाडौं,१ मंसिर । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण जीवनरक्षक औषधिको अभाव भएपछि शल्यक्रिया सेवासमेत पर धकेलिएको छ। औषधिसँगै उपकरण, सूचर, ब्लड ब्यागजस्ता अत्यावश्यकीय सामग्रीको 'स्टक' निकै कम भएपछि अस्पतालहरूले आकस्मिकबाहेक अन्य शल्यक्रियाको समय अनिश्चितकालका लागि सार्न थालेका छन्।

नाकाबन्दीका कारण औषधि अभाव हुँदा देशकै ठूला सरकारी अस्पतालमा शल्यक्रिया रोकिन थालेपछि शल्यक्रियाका लागि बन्द छल्दै दुर्गम जिल्लाबाट आउने बिरामी काठमाडौंमा अलपत्र परेका छन् भने कतिपय घरमै रोकिएका छन्।

 स्रोतका अनुसार जिल्लाबाट सिफारिस भएर आउने अधिकांश बिरामीको उपचार गर्दै आएका उपत्यकाका ठूला अस्पताल वीर, शिक्षण, सहिद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, पाटन, स्त्रीरोग तथा प्रसूतिगृहलगायत अस्पतालमा जीवनरक्षक औषधिको कमी भएपछि तत्काल गर्नुपर्ने शल्यक्रिया गरिएको छ।अन्य शल्यक्रियाका लागि पछि आउनुहोला भन्दै बिरामीलाई फर्काउन थालिएको छ। 

 नाक, कान, घाँटी, पत्थरी, मिर्गौला, क्यान्सर, पाठेघरलगायत शल्यक्रियाको समय सार्न थालिएको छ। केन्द्रीय कारागार अस्पतालबाट सिफारिस भई गएका बिरामी कैदीहरूको शल्यक्रियाको समयसमेत पछि सारिएको छ। सहिद गंगालाल हृदय केन्द्रका निर्देशक एवं वरिष्ठ मुटु शल्यचिकित्सक जोतेन्द्र शर्माले औषधि र उपकरणको अभावमा आकस्मिक शल्यक्रिया नरोकियोस् भनेर कुर्नसक्ने बिरामीको शल्यक्रियाको समय पछि सार्न थालेको बताए। 'अस्पतालमा थोरैमात्र औषधि र सानासाना तर महत्वपूर्ण उपकरण छन्। 

 ती आकस्मिक शल्यक्रियाका लागि प्रयोग गर्नुपर्छ भनेर हामीले शल्यक्रियाको संख्या घटाएका छौं,' डा. शर्माले भने, ‘पहिले हामीले दिनमा ६ देखि ७ सातवटासम्म शल्यक्रिया गर्थ्‍यौ। अहिले बाध्य भएर ३ देखि ४ वटामा झारेका छौं।' अचानक बेहोस भएका र हृदयाघात भएका बिरामीलाई बचाउने औषधि 'एड्रिनालिन' समेत ठूला अस्पतालमा अभाव छ। जीवनरक्षक औाषधिसमेत अभाव भएपछि शल्यक्रिया सेवा पनि प्रभावित भएको मनमोहनमा कार्यरत वरिष्ठ मुटु शल्यचिकित्सक भगवान कोइरालाले बताए। 

 शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले पछि शल्यक्रिया गर्न मिल्ने कतिपय बिरामीलाई फोनबाटै परामर्श गर्दै तत्कालाई घरमै बस्न आग्रह गरेको बताए।जीवनमरणमै भूमिका निर्वाह गर्ने औषधिको समेत सरकारले व्यवस्था गर्न नसक्दा मर्नका लागि छट्पटाइरहेको बिरामीलाई टुलुटुलु हेर्ने अवस्था आयो', कोइरालाले भने, 'बाँच्ने अधिकार हनन गर्ने अधिकार संसारकै कुनै पनि देश र मानिसलाई छैन।

 वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले औषधि उपकरणको अभाव हुँदा सबैभन्दा बढी गरिब बिरामीले सास्ती खेप्नुपरेको बताए।स्रोतका अनुसार पेट्रालियम पदार्थको अभावमा आउनजान समस्या परेको भन्दै चिकित्सकले बिरामीको उपचारको समय सार्ने गरेका छन्।

 'यो समस्या धेरैजसो सरकारी अस्पतालमा छ। आउनलाई आफ्नै सवारीसाधनमा पेट्रोल नभएको र अस्पतालका गाडी लिन नआएको भन्दै अस्पताल जान छोडेका छन्', स्रोतले भन्यो, ‘उपकरण अभावमा कतिपय चिकित्सक शल्यक्रिया गर्नसमेत डराएका छन्। कतिपयले भने जोखिम उठाएरै शल्यक्रिया गरेका छन्। नगरिनहुने बाध्यता पनि छ।'

 सडकमा उत्रने चिकित्सकको तयारी

बाँच्न पाउने अधिकार वञ्चित गर्दै औषधिको समेत आयातमा रोक लगाएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सक सडकमा उत्रने तयारीमा छन्।  भारतबाट औषधि आयात ठप्प भइरहेको बेला सरकारले समेत इन्धन वितरणमा स्वास्थ्य क्षेत्रलाई ओझेलमा पारेपछि शल्यक्रियासमेत रोकिन थालेको र बिरामी बचाउने पेसागत धर्म धराशायी भएको भन्दै उनीहरूले दबाबस्वरूप सडकमा उत्रने तयारी गरेका हुन्।

नेपाल चिकित्सक संघले सोमबार आफ्नै कार्यालयमा गरेको छलफल र सुझाव संकलनमा सरकारी अस्पतालका चिकित्सकले आक्रोशित हुँदै राजनीतिक कारणले गरिब बिरामीको ज्यान जान नदिने बताए। संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालको समग्र स्वास्थ्य सेवाको अवस्थाबारे अनुगमन गर्ने र समस्या समाधान गर्ने स्वास्थ्य मन्त्रालय मौन बस्दा मानवीय संकट उत्पन्न भएको बताए।

 औषधि नपाएर जनता मर्न लागेका छन्। अस्पताल सुकेका छन् । शल्यक्रिया रोकिएको छ। रगतको अभाव भएको छ। मुख्य जिम्मेवार निकाय भनिएको स्वास्थ्य मन्त्रालय बेखबर छ', उनले आक्रोशित हुँदै भने, 'स्वास्थ्यसचिव विदेश भ्रमणमा व्यस्त हुने, स्वास्थ्यमन्त्रीले छलफलका लागि समयसमेत नदिने, अब हामी कहाँ जाने घच्घचाउन

यस्तो संकटका बेला केही गर्न नसक्नेले तत्काल सरकार छोड्नुपर्छ।' उनले सरकारलाई दबाब दिन र बिरामी बचाउन जस्तोसुकै आन्दोलन गर्न संघ तयार रहेको बताए।कार्यक्रममा डा. भगवान कोइरालाले नाकाबन्दीका कारण बाँच्ने अधिकारमाथि गम्भीर आघात पुगेको भन्दै त्यसका विरुद्ध हजारौं चिकित्सक सेतो कोटका साथ सडकमा उत्रनुपर्ने अवस्था आएको बताए। 

उनले संसारका कुनै पनि देशको युद्धमा समेत अत्यावश्यक सेवामा रोक नलगाएको अवस्थामा नेपालमाथि यत्रो बज्र प्रहार गरिनु निन्दनीय भएको बताए। कार्यक्रममा डा. केदारनरसिंह केसी र डा. अर्जुन कार्कीले पनि नाकाबन्दी र आन्दोलनका कारण बिरामी बचाउने चिकित्सकको पेसा नै संकटमा परेको बताए।

  पूर्वमा सकियो औषधि

हरिबहादुर लम्जेल       

धनकुटा,१ मंसिर । तीन महिनादेखि तराईका जिल्लामा भइरहेको आन्दोलन र त्यसलाई बहाना बनाएर भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन अभाव हुँदा पूर्वाञ्चलका जिल्लामा अत्यावश्यक औषधिको अभाव भएको छ।

 पूर्वाञ्चलका सरकारी अस्पतालमा अत्याश्वयक औषधिको अभाव हुन थालेको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत बाबुराम भुसालले जानकारी दिए।

 मौज्दातमा रहेकोे अत्याश्यक ३५ प्रकारको औषधिमध्ये जीवनजल, प्यारासिटामोल, भिटामिन 'बी' कम्पलेक्स, स्लाइन, सिटामोल सिरप, मेट्रोलगायत २१ प्रकारका औषधिको स्टक सकिएको कार्यालयले जनाएको छ। 

 त्यस्तै गर्भवती महिलाले सेवन गर्ने आइरन चक्की, ब्लड पे्रसरका बिरामीले सेवन गर्ने एन्टेनोलल, फर्समाइड औषधिको अभाव भएको अधिकृत भुसालले बताए । केही औषधिको थोरै मात्र स्टक रहेको उनको भनाइ छ।'नेपालभित्रै उत्पादन हुने औषधि पनि इन्धन अभावले ढुवानी गर्न सकिएको छैन', उनले भने, 'कतिपय जिल्लामा एम्बुलेन्सको सहायतामा औषधि ढुवानी गरिरहेका छौं।'

पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, भोजपुरलगायत दुर्गम जिल्लामा समयमै औषधि स्टक रहेको पाइयो। त्यहाँका अस्पातलमा मौज्दात औषधिलाई अभाव झेलिरहेका तराईका अस्पतालमा आपूर्ति गर्ने गरिएको भुसालले बताए। उनले भने, 'औषधि अभावबारे तिहारअघि नै विभागलाई जानकारी गराएको छौं।' कार्यालयका अनुसार पहाडी जिल्लाभन्दा तराईका धेरै जिल्लामा औषधि अभाव भएको रिर्पोट आएको छ। 

पूर्वाञ्चलका अस्पतालमा मौज्दात रहेको औषधिले बढीमा एक हप्ता मात्र धान्ने अवस्था छ। सप्तरी, सिराहालगायतका तराईका जिल्ला सम्वेदनशील क्षेत्रका हिसाबले बढी प्रभावित भएका छन्। 'स्टक सकिएको छ, स्टोरमा औषधि छैन', भुसाल भन्छ्न, 'हस्पिटलमा भर्ना भएका बिरामीलाई समेत औषधि दिन सकिएको छैन।'