Live Streaming

भारतको एउटै जिल्लाका २० हजारसँग नेपाली नागरिकता

ज्ञानेन्द्र खड्का

काठमाडौं,१ मंसिर ।  तीन महिनादेखि आन्दोलनरत मधेसी दलहरुले मधेसमा लाखौं नागरिक नेपाली नागरिकता लिनबाट बञ्चित भइरहेको दाबी गरिरहँदा भारतको एक चर्चित समाचार पत्रले सनसनीपूर्ण समाचार छापेको छ । 

 मंगलबार प्रकाशित चर्चित भारतीय पत्रिका नवभारत टाइम्सले भारतको उत्तरप्रदेश राज्यस्थित महाराजगञ्ज जिल्लाका २० हजार भारतीयले नेपाली नागरिकता लिएको खुलासा गरेको हो । 

दोहोरो नागरिकता प्रकरणले चुनाव आयोगलाई अफ्ठेरोमा पारेको जनाउँदै सो पत्रिकाले नेपालतर्फ ८० किलोमिटर सीमाना जोडिएको महाराजगञ्जका मात्रै २० हजार बासिन्दा दोहोरो नागरिकतावाला भएको उल्लेख गरेको छ । 

एक्लै महारगञ्ज जिल्लाको करिब ८० किलोमिटर सीमाना नेपालसँग जोडिएको छ ’, नवभारत टाइम्सले लेखेको छ, ‘जहाँका ४० गाउँमा लगभग २० हजार दोहोरो नागरिकतावाला रहेका छन् । यिनीहरुसँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको छ ।

दोहोरो नागरिकता लिएकाहरुले महाराजगञ्ज जिल्लामा लोकसभा, विधानसभा, गाउँ पञ्चायदेखि लिएर क्षेत्र पञ्चायको चुनावमा पनि भाग लिइरहेको पत्रिकाले दाबी गरेको छ ।सोनौली क्षेत्र एक्लैमा मात्रै एक हजार दोहोरो नागरिकतावाला रहेका छन्’, सुत्रलाई उधृत गर्दै पत्रिकाले लेखेको छ, ‘उनीहरु सबैजसो नेपालको बेलहिया र भैरहवाका मूलनिवासी हुन् ।

दोहोरो नागरिकताको समस्या एक्लै नेपालको मात्रै नभएर भारतको पनि रहेको पत्रिकाले उल्लेख गरेको छ । यो समस्या नेपालको मात्रै होइन । सीमामा रहेका भारतका सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोन्डा, श्रावस्ती र लखिपुरको पनि हो । यी ठाउँमा यस्ता हजारौं मामिला बाहिर आएका छन् ।

पत्रिकाले दोहोरो नागरिकता भएकाहरुसँग मताधिकार भएमा उनीहरुलाई मत हाल्ने काममा पनि कसैले रोक्न नसक्ने लेखेको छ । यस्तो अवस्थामा यसबारे उजुरी गरिएमा दोहोरो नागरिकताबारे जाँच गर्न सकिन्छ’, पत्रिका अगाडि लेख्छ, ‘तर एक पटक चुनाव भइसकेपछि यो प्रक्रिया त्यतिकै सेलाएर गइजान्छ ।

महाराजगञ्जका डीएम सुनिलकुमार श्रीवास्वले दोहोरो नागरिकता राख्नुलाई अपराध भनेका छन् । दोहोरो नागरिकता राखिनु अपराध हो’, उनले भनेका छन्, ‘यदि यस्ता व्यक्तिले चुनावका क्रममा भोट हालेको उजुरी परेमा उनीहरुमाथि अवश्य कानुनी कारबाही हुन्छ ।