एन्फाका अध्यक्ष गणेश थापा निलम्बन
काठमाडौं,मंसिर । विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापालाई फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरि १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
थापालाई घुस लिएको आरोपमा १० वर्षका लागि प्रतिबन्धित लगाउनुको साथै २० हजार स्वीस फ्रान्क अर्थात् झण्डै २१ लाख रुपैयाँ जरिवाना समेत गराउने निर्णय फिफाले गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व उपाध्यक्षसमेत रहेका थापाले फुटबलको विकास नाममा करोडौं रकम हिनामिना गरेको अभियोगमा नेपाल सरकारले समेत उनीमाथि अनुसन्धान गरिरहेको छ । एसियाली फुटबल संघकोमा रहँदा फिफा कार्यकारी समितिका लागि सन् २००९ र २०११ मा भएको चुनावका क्रममा उनले घुस लेनदेन गरेको आरोप लागेको हो ।
थापाले एन्फामा आफ्नो १९ वर्षे कार्यकालका क्रममा चार मिलियन पाउन्ड हिनामिना गरेको अभियोगमा पनि उनीमाथि नेपाल सरकारले छानबिन अघि बढाइरहेको छ । केही समय अघि राष्ट्रिय टीमका कप्तान सागर थापा सहित ५ जना खेलाडिले अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेपछि एन्फा पदाधिकारी समेत त्यसमा संलग्न भएको चर्चा चलेको थियो । गणेश थापा राप्रपा नेपालका सांसद समेत छन् ।