छठ पर्व आजदेखि
काठमाडौं,२९ कार्तिक । मिथिलाञ्चलको महान् पर्व छठ आजबाट विधिवत रूपमा सुरु भएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
महाभारतका अनुसार द्रौपतिसहित पाण्डवहरुले अज्ञात बासमा रहंदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको धार्मिक विश्वास छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रूपमा मनाइने चारदिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।
छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्दैछन् । यसैगरी भोली दोस्रो दिन घरको पवित्र स्थानमा खिरपुरी पकाइन्छ । खिर र रोटी लगायतका प्रसाद छठी मातालाई अर्पण गरेपछि विधिवत रुपमा व्रत सुरु हुन्छ । छठको मुख्य दिन भोलि टोलभरीका पवित्र जलाशय, नदी, तलाउमा गएर छठी माताको भक्ति आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ ।